मालारानीलाई नमुना पालिकाको रुपमा बिकास गर्नुपर्नेमा जोड | सन्धिखर्क बल्कोट तम्घास सडक अनुगमन

शेभाखर पन्थी
मालारानी, अर्घाखाँची असार ११ । मालारानी गाउँ पालिकालाई नमुना पालिकाको रुपमा बिकास गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
प्राकृतिक,धार्मिक र सांस्कृतिक महत्वको पालिकालाई पर्यटन,कृषि,पशुपालन,फलफूलखेती र जडिबुटीखेतीको पकेट क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा उनीहरुको जोड थियो । 
आर्थिक वर्ष २०७५-७६ को नीति कार्यक्रम तथा वजेट माथीको छलफलका क्रममा मन्तव्य राख्दै अर्घाखाँची क्षेत्र नं.१ प्रदेशसभाका सदस्य चेतनारायण आचार्यले  प्रदेशसरकार मार्फत जिल्लामा अहिले सम्मकै धेरै वजेट विनियोजन गर्न सफल भएको बताए । उनले भौतिक निर्माणको ३ अर्व मध्ये एक अर्व वजेटलाई अर्घाखाँचीमा ल्याउनु सानो विषय नभएको दाबी गरे । 
आचार्यले खानेपानी सिंचाइको समस्या हल गर्न पनि धेरै वेजट पार्न सकिएको बताए । उनले सहकारीको माध्यमबाट कृषि र पशुपालन व्यवसायलाई विस्तार गर्न धेरै वजेट छुट्टिएको बताए । अर्घाखाँचीमा वजेट नै आएन भनेर गलत भ्रम छर्ने काम भएको भन्दै उनले अहिलेको वजेटले जिल्लाको स्वरुप नै फरिने दावी गरे । उनले मालारानी गाउँपालिकालाई नमूना गाउँ पालिकाको रुपमा परिणत गर्न जनप्रतिनिधिहरुलाई सुझाव समेत दिए ।
 जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्माले जि.स.स.ले स्थानीय तहलाई वजेटको ड्राफ्ट दिन भनेर तिन पटक पत्र काटेपनि कुनै पनि स्थानीय तहबाट प्राप्त नभएको बताए । उनले जिससले काम कर्तव्य र अधिकारलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए । 
गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले मालारानी गाउँपालिकाले लोक प्रिय र दीर्घकालिन महत्वका आयोजनालाई अघि सारेको बताए । उनले सहकारीको क्षेत्रमा मालारानीले अन्य स्थानीय तहको तुलनामा धेरै काम गरेको बताए । 
 प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले स्थानीय तहबाट हुने सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउनु पर्ने बताए । उनले नागरिकले राहतको अनुभूति गर्ने ढंगबाट सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।  कार्यान्वयन चरणमा रहेको संघियतालाई सफल पार्न सबैले आआफ्नो ढंगबाट भूमिका खेल्नु पर्ने उनको भनाई थियो । 
कार्यक्रममा नेकपाका नेता नरेन्द्र कुमार क्षत्री, नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, नयाँ शक्ति पार्टीका संयोजक जिन्दक खड्का, खनदहका पूर्व गाविस अध्यक्ष मणिराम पोख्रेल, शान्ति माविका प्राचार्य मानबहादुर पाण्डे, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जि.स.ी लेकाली लगायतले मन्तव्य राख्दै गाउँसभा सफलताको शुभकामना व्यक्त गरेका थिए । 
कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत जनराज पन्थीको स्वागत मन्तव्य र कार्यक्रम अधिकृत नेत्र खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 
सन्धिखर्क बल्कोट तम्घास सडक अनुगमन
सन्धिखर्क बल्कोट तम्घास सडकमा भइरहको ओटासिलको कार्यको अनुगमन गरिएको छ । 
सडकको प्रदेश सांसद चेतनारायण आचार्य र प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अनुगमन गरेका हुन । 
अनुगमनबाट सडकको कामलाई प्रभावकारी ढंगले समय अवधि भित्रै सम्पन्न गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । उहाँले गुणस्तरीय कायम गर्न र नाली कटिङ्गको पाटोलाई व्यवस्थित गर्न सुझाव दिएको बताउनुभयो ।
 जिल्लामा विकास निर्माणका कामहरुको अनुगमनलाई बढाइएको छ ।  ठेकेदारहरुले असार मसान्त आउन थालेपछि  हतारहतारमा विकास निर्माणका कामहरुलाई सम्पन्न गर्ने गरेका छन् ।
 हतारमा हुने गरेका कामहरु प्रभावकारीता कम हुने गरेको छ । प्रशासनले अनुगमन गरि काममा कडाइ गर्न थालेपछि पहिलेको तुलनामा योजनामा केहि सुधार देखिएको छ ।