अर्घाखाँचीमा राष्टिय धान दिवस मनाइयो (भिडियो तस्बिर सहित)


प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची असार १५ , २०७५ (अर्घाखाँचीडट्कम) । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, राष्टिय धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
जिल्लाको सन्धिखर्क १ कुडुलेमा बाजागाजा सहित सन्धिखर्क नगरपालिका कृषि शाखाले अायोजना गरेको खेत रोपाइ कार्यक्रममा जिल्ला समन्य समितीका अध्यक्ष, नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, कृर्षि शाखा प्रमुख तथा कर्मचारी पत्रकार र स्थानियहरूले दबदबे हिलोमा सामुदायिक रूपमा रोपाई गरेका थिए ।
ढिकुराको टिमुरेमा धान रोपाई
यस्तै राष्ट्रिय धान दिवसको अबसरमा भुमिकास्थान नगरपालिका कृर्षि शाखाले वार्ड नम्बर ९ ढिकुराको टिमुरेमा धान रोपाइ कार्यक्रम अायोजना गरेको थियो ।  धान रोपाइ कार्यक्रममा नगर प्रमुख रेसम बहादुर थापा उपप्रमुख खडान्द बेल्बासे लगायतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
ठाडामा धान रोपाई
यस्तै धान दिवसको अवसरमा शितागंगा नगरपालिकाले ठाडामा धान रोपाई गरेको छ ।  धान रोपाईमा नगरप्रमुख सुर्य अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
साथै जिल्लाभर राष्ट्रिय धान दिवसको अबसरमा धान रोपाइ कार्यक्रम अायोजना गरी मनाइएको छ ।
मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने परम्परा छ । २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । २०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।
विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एशियामै खपत हुने गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६० दशमलव ४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।