अर्घाखाँचीमा अबैध रुपमा मरेका २ गरी १५ भैंसी सहित एक जना पक्राउ

सहयोगी बिसी 
नरपानी, अर्घाखाँची । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत नरपानीबाट अबैध रूपमा बुटवल तर्फ लैजादै गरेको एक ट्रक भैसी सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका वाड नम्वर २ प्रगती बजारका २१ बर्षिय दिपक भुसाल रहेका छन । ट्रकमा काठको फ्ल्याकले ढाकेर लुकाइ छिपाइ लैजादै गरेको अबस्थामा आज दिउसो नरपानीबाट लु २ ख२०५ नम्वरको ट्रक बाट २ मरेको भैंसी सहित १५ वटा भैंसी प्रहरीले बरामद गरेको हो। ट्रकमा बुटवल गोलपार्कका मोहन शाहि कहाँ पैठारी गर्न ट्रकमा राखेको अबस्थामा एक ट्रक भैसी र त्यसमा रहेका १३ जिउदो भैसी र २ वटा मृत अबस्थाका भैसी बरामद गरेको हो । 
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा निमित्त प्रहरी प्रमुख प्रदीप कुमार डि. सि,अनुसन्धान प्रमुख गोपाल पंथिको टोलीले भैसी निकासी भैरहेको छ भन्ने सुचनाको आधारमा सो ठाउमा अनुगमन गर्दा ट्रकमा लुकाइ छिपाइ गरि लैजान लागेका ती भैसीहरु बरामद गरेको हो ।
निजले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ दफा ११को २ अनुसार भैसी पैठारीको लागि अपनाउन’ पर्ने करेन्टाइन पास प्रमाणपत्र नबनाएकोले र मरेको पशु पैठारी गर्न लागेकोले निजलाई २० हजार र तिन महिना कैद तथा दुबै कार्बाही हुने प्रमुख जिल्ला अधिकारिले बताउनु भयो । अबैध भैसी निकासीको रोकथामको लागि यस भन्दा अघि सर्ब पक्षिय तथा सर्ब दलिय निर्णय भएपनि भैसी निकासीमा कुनै कमी नभएको र गाँउ गाँउमा दुध दिइरहने भैसी समेत खरिद गरि मासुको लागि अबैध रुपमा निकासी भैरहने गरेको थियो । स्थानीय प्रशासन ऐन २०२८ ले समेत स्त्री पशुलाई मासुको रूपमा खरिद बिक्रि गर्न निषेधित समेत गरेकोले कार्बाहिको प्रक्रिया अगाडि बढाउनु परेको प्रजिअ भुसालको भनाई रहेको छ।
पशु पैठारीको लागि स्वस्थ्य पशुको सिफारिस गर्ने र सिफारिस गरेको केही घण्टामै पशु मरेकोले जिल्ला पशु सेवा कार्यालयका कर्मचारीका बारेमा समेत अनुसन्धान भै रहेको र मृत्यु भएको पशुको पोस्टमार्टम साथै कानुनी प्रक्रिया अगाडि बढेको निमित्त प्रहरी प्रमुख प्रदिप कुमार डि. सि. ले बताउनु भएको छ।
सोही स्थानमा मादक पदार्थ सेवन गरि होहल्ला मच्चाउने र प्रहरी संग बादबिबाद गर्ने सोही ठाउँ निबासी भक्ती प्रसाद भुसाल समेतलाई शान्ती सुरक्षा ऐन अन्तर्गत नियन्त्रणमा लिई कार्बाही प्रक्रिया अगाडि बढाइएको बुझिएको छ।