शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची असार १७ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम शुरु भएको छ ।
तिन दिन सम्म सञ्चालन हुने कार्यक्रममा जिल्लाका १ सय ५० बढि छात्रा खेलाडीहरुको सहभागिता रहेको छ । ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नारा तय गरेर राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको कार्यक्रममा खेलकुदमा महिलाको संभावना र चुनौती, खेल र जीवन, महिला हिंसाबाट बच्ने उपाय लगायतका विषयमा छलफल भएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले समृद्ध राष्ट्र निर्माणका लागि खेलकुदको सर्वाङ्गिण विकास गर्नुपर्ने बताए । स्वस्थ, अनुशासित, देशभक्त र सक्षम नागरिकको निम्ति खेलकुद क्षेत्र उर्वर भूमि भएको भन्दै उनले खेलको माध्यमबाट सिर्जनशिलता, आत्मविश्वास र सफल नेतृत्वको विकास हुनेमा जोड दिए ।
खेलकुदमा महिला सहभागिता विस्तार गरि शारीरिक स्वस्थ, सवल मानसिक रुपले उच्च मनोवल, बलियो इच्छाशक्ति, सफल नेतृत्व विकास तथा महिला हिंसा न्यूनिकरण गर्न सक्षम जनशक्ति निर्माण गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा मन्तव्य राख्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले खेलकुदले मानसिक, मनोवैज्ञानिक र शारीरिक रुपमा सवल बनाउन सहयोग पु¥याउने भन्दै यसको चौतर्फी विकासको निम्ति आफ्ना क्षेत्रबाट सहयोग पु-याउन आग्रह गरे । उनले जिल्लाको कुना काप्चामा लुकेर रहेका खेलाडीहरुलाई राष्ट्रिय रुपमा अघि बढाउन लागि पर्ने बताए । समिति श्रोत र साधनका वावजुत काम गर्नु पर्दा आफूहरुले निकै सास्ती व्यहोर्नु परेको भन्दै खेलकुदका क्षेत्रमा प्रयाप्त वजेट विनियोजन गर्न राज्यको ध्यानाकर्षण गराए ।
कार्यक्रममा भगवति मावि सन्धिखर्क २ शंखेटारीका प्रधानध्यापक श्याम बहादुर भुसाल, सन्धिखर्क १ की वडा सदस्य सुमित्रा मुखिया, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी (लेकाली), नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी, जिल्ला खेदकुद विकास समितिका सदस्य बलबहादुर विसी, राधा आचार्य, साजन वली, मोहन सिंह ठकुरी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जनक गैरे लगायतका वक्ताहरुले मन्तव्य राख्दै खेलकुदको चौतर्फी विकासका लागि सबै पक्षको सहयोगको आवश्यकता रहेको बताएका थिए ।