गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची असार–१९, । असारको १५ बिति सक्दा समेत पानी नपरेर चिन्तित भएका अर्घाखाँचीका किसान आइतबार रातीबाट वर्षा भएपछि हर्षित भएका छन् ।
लामो समयको खडेरी पछि बारिमै सुक्न थालेका मकै,रोप्न नपाएको कोदोको बिउ,तथा खेतमा रोपेको धान र रोप्न बांकी धानको बिउलाई आइतबार राती देखी परेको पानीले केही राहत मिलेको छ । जसका कारण अर्घाखाँचीका किसानमा खुशियाली छाएको हो ।
असार १५ बिति सक्दा समेत पर्याप्त बर्ष नभएपछि धान रोप्न नपाउने,धान सुत्लो गर्न थालेको मकै बारिमै सुक्ने,अन्य तरकारी बाली समेत लगाउन नपाउने र लगाएको पनि पानीको अभावमा नष्ट हुन थालेपछि जमिन बाझै बस्ने चिन्ताले स्थानीयलाई सताएको थियो । तर ढिलै भएपनि पानी परेपछि खेतबारीमा बाली लगाउन नपाएका किसानहरूका लागि पानीले उत्साह थपेको छ ।
पानी परेपछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क सहित जिल्लाभर बढेको अत्याधिक गर्मी पनि हटेको र शीतलताको अनुभुती समेत भएको छ ।
यसैबिच ढिलो गरि सुरु भएको मनसुन अझै केहीदिन निरन्तर सक्रिय हुने र ठुलो पानी पर्ने सम्भावना रहेको भन्दै पानीका कारण हुन सक्ने बाढि पहिरो तथा डुवानबाट सर्तकता अपनाउन मौसम विदहरुले सर्वसाधारणलाई अपिल गरेका छन् ।