सन्धिखर्क नगरद्धारा जिल्ला अस्पताल अर्घाखाँचीको आकस्मिक अनुगमन, पाठेघर खसेका महिलाका लागि नि:शुल्क अप्रेशन शिविर शुरु (भिडियो)
आषाढ़ २३ गते, २०७५ मा प्रकाशित
(पहिलो प्रकासित मिती: २०७५ आषाढ २२, शुक्रवार)
गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला अस्पताल अर्घाखाँचीको हिजो नगर प्रमुख कमल प्रसाद भुसाल र उप–प्रमुख ठाकुर कुमार वि.क.ले आकस्मिक अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा उहांहरुले अस्पतालका बिरामीलाई दिइने उपचार सेवा,अस्पतालमा विरामिका लागि औषधिको प्रयाप्तता,चिकित्सा सामग्रिहरुको उपल्व्धता लगाएतका विषयको जानकारी लिनुभएको छ । सो क्रममा नगर प्रमुख भुसालले अस्पतालमा उपचार गराइरहेका बिरामीहरुसंग समेत सेवा प्रवाहको बारेमा प्रतिक्रिया लिनुभएको थियो ।संगै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन र अस्पतालको गुणस्तर बृद्धि गर्ने बिषयमा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिवारीसंग परामर्श समेत गर्नुभएको छ ।छलफको क्रममा १५ शैयाको अस्पताललाई ५० सैया सम्म पुर्याउने सन्धिखर्क नगरपालिकाको लक्ष्य अनुसार आफुहरुले काम अगाडि बढाएको भन्दै नगर प्रमुख भुसालले प्रभावकारी सेवा प्रवाहमा कुनै कमी नराख्न जिल्ला अस्पतालका प्रमुख डाक्टर तिवारीलाई आग्रह गर्नुभएको बताइएको छ ।
यस्तै नेपाल सरकारबाट प्राप्त सेवा सुविधालाई अस्पतालले के कसरी प्रवाहित गरेको छ भन्ने बारेमा अनुगमन गरिएको नगर उप–प्रमुख वि.क.ले बताउनुभयो । “सरकारबाट प्रदान गरिने निःशुल्क औषधि, बिरामीलाई निःशुल्क खाना, अःपतालको फोहर व्यवःथापन, बिरामीले पाएका सेवा सुविधाका बारेमा अनुगमन गरेका छौँ” नगर उप–प्रमुख वि.क.ले भन्नुभयो,–“अनुगमनको क्रममा भेटिएका सामान्य कमजोरी सुधार गर्न सुझाव दिएका छौँ ।”अनुगमनको क्रममा अःपतालमा रहेका बिरामीले पनि पाएको सेवा सुविधाप्रति आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
अस्पतालमा अहिले विगतका भन्दा सेवा प्रवाहमा आएको परिवर्तन संगै सेवा ग्राहिको समेत भिड बढ्न थालेको अस्पतालले जनाएको छ ।यसैबिच महिलाहरुको पाठेघर खस्ने समस्यालाई मध्येनजर गर्दै सन्धिखर्क नगरपालिकाले जिल्ला अस्पताल अर्घाखाँचीमा हिजैदेखी दुइ दिने निःशुल्क पाठेघर उपचार तथा अप्रशन शिविर संचालन गरेको छ । नगर प्रमुख,उप-प्रमुख,जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर सहित सरोकारवालको बिशेष उपस्थितिमा शिविरको उद्घाटन गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ । असार २३ गते सकिने निशुल्क शिविरमा जिल्ला बाहिर बाट आउनुभएका बिशेषज्ञ डाक्टरहरु सहितको टोलीले सेवा दिने बताइएको छ । पाठेघर खस्ने रोग संग सम्बन्धित महिलाहरुले समयमै सम्पर्क गरि सेवा लिनुहुन नगरपालिकाले आग्रह समेत गरेको छ ।