अर्घाखाँचीमा छानोको पानी थापेर पिउँदै

असुरकोटमा आकाशको पानी घैटोंमा संकलन गरिँदै ।
वीरेन्द्र केसी कान्तिपुर
बल्कोट, अर्घाखाँची । वर्षाभरि चिन्ता छैन । आकाशको पानी भाँडोमा थापेर खान, कपडा धुन र पशुलाई खुवाउन पुग्छ । घैंटा पनि भरिन्छ । आकाशमा कालो बादल देखिनासाथ छत्रदेव गाउँपालिका २ बल्कोटकी सीता खनाललाई भाँडा बटुल्न हतार हुन्छ ।
गाग्री, ताउला, ड्रम, बाल्टीदेखि प्रेसर कुकर र कसौंडीसमेत भर्छिन् । आकाशबाट पानी परेपछि घर र गोठको छानोबाट भुइँमा खस्ने पानी उनले खेर जान दिन्नन् । छानोमै पाइप राखेर धारो खस्ने बनाइएको छ । त्यहीँ भाँडा थापेपछि भरिन्छ । 
‘खानेपानी जम्मा गर्दा अकाशको पानीले शरीर निथु्रक्क भिज्छ,’ खनालले भनिन्, ‘घरमा २ लाख लिटर पानी अट्ने दुइटा घैंटा छन् । वर्षामा घैंटा भरिन्छन् । त्यही पानीले हिउँदको केही महिना खान, कपडा धुन पुग्छ ।’ पुस/माघ लागेपछि घैंटा रित्तिन्छ । त्यसपछि कुवा चहार्दै जंगल धाउनुपर्ने उनले बताइन् । असार महिना लागेपछि उनलाई कुवा धाउनु परेको छैन । डोकोमा गाग्रीभरि पानी बोकेर ल्याउँदा चिसोको समयमा ढाड, कम्मर, घुँडा, छाती दुख्ने गर्छ । गर्मीमा पसिनाले शरीर भिज्छ । ‘वर्षाभर दु:ख हुँदैन,’ उनले भनिन्, ‘आकाशकै पानीको भर छ । आकाशको पानी खान हुँदैन भन्छन् तर हामीले वर्षौंदेखि यही खाइरहेका छौं ।’ 
भूमिकास्थान नगरपालिका बुधुनमाराकी कमला घर्तीको ४० हजार लिटर अट्ने घैंटोमा पानी सकिएको माघमै हो । असारसम्म दुई घण्टा उकालोमा पानी बोकेर गुजारा चलाइन् । ‘एक हजार लिटरको ड्रम साताअघि किनेर ल्याएँ,’ उनले भनिन्, ‘भरेर राख्छु । वर्षा सकिएपछि त्यही खर्च गर्छु । दुई सय लिटरजति पानी सँगालिएको छ ।’ खरले छाएको घर छ । छानोबाट खस्ने पानी त्यति सफा हुँदैन । ‘फोहोर भए पनि उमालेर खाएपछि पेट दुख्दैन,’ उनले भनिन्, ‘गाउँमा आउने नेता र कर्मचारीले मिनरल वाटर ल्याएर खान्छन् । हामीले खाने पानी उनीहरूले खाँदैनन् ।’ आकाशको पानी उमालेर खाने र गाईबस्तुलाई पनि तताएरमात्रै ख्वाउने उनले बताइन् । ‘हिउँदमा जस्तै गाग्री बोकेर कुवा धाउन सकिँदैन । बाटो चिप्लो भएर लडिन्छ । जुका लाग्छ,’ उनले भनिन्, ‘वर्षामा कुवा र मुहानमा पानी पाइन्छ, हिउँदमा सुक्छ । आकाशबाट वर्षा हुँदा मन रमाउँछ ।’
२० वर्षअघि फिनिडा नामक गैरसरकारी संस्थाले घैंटा निर्माणमा सहयोग गरेको थियो । ‘आकाशको पानी भाँडोमा थापेर हेर्दा रंग पहेंलोजस्तो देखिन्छ,’ स्थानीय मोतीलाल घर्तीले भने, ‘मूलको जस्तो मीठो त हुँदैन । तर, के गर्ने स्वाद अलि फरक भए पनि खानैपर्छ ।’ यत्तिकै पिउँदा पेट दुख्ने र झाडापखाला लाग्ने भएकाले उमालेर मात्रै खाने गरेको उनले सुनाइन् ।सबैका घरका छाना जस्तापाताका छैनन् । खरको छानोबाट सुरुमा धमिलो पानी खस्छ । आठ/दस पटकको वर्षाले धमिलो झारेर निखारेपछि बल्ल खान मिल्ने खालको हुने उनले बताए । खरको मैलो निर्खिएपछि भाँडा थापिन्छ । 
वर्षामा धेरै कुवामा पानी देखिए पनि हिउँदमा छिटफुटमा मात्रै हुन्छ । बल्कोटकी अस्मिता पौडेलको चिसोमा पानी बोक्दा ढाड दुख्ने समस्या छ । ‘औषधि खाएर बोक्छु,’ उनले भनिन्, ‘वर्षाभर बोक्नु पर्दैन । आकाशकैले पुग्छ । घैंटो र खाली भाँडा भर्न रातिमा पानी पर्दा उठनुपर्छ ।’नेता, कर्मचारी र सरकारी निकायमा बारम्बार खानेपानीको समस्या हल गरिदिन माग गरे पनि सुनुवाइ नभएको उनले बताइन् । जनप्रतिनिधि र सांसदले खोलाको पानी तानेर ल्याइदिन्छौं भनेर आश्वासन धेरैपटक दिए । तर, गफमै सीमित भएको उनी सुनाउँछिन् ।
मालारानीको गोखुंगामा हिउँदमा एक गाग्री पानी ४० रुपैयाँ तिरेर किन्नुपर्छ । सीता परियारलाई चारवटा घैंटा नभरिने हुन कि भन्ने चिन्ता हुन्छ । रातिमा पानी पर्दा टिन बज्छ । ‘उठेर गाग्री र ताउला थाप्छु,’ उनले भनिन्, ‘भरिएपछि घैंटामा खन्याउँछु । दिउँसोमा त कचौरासमेत थापेर भर्छु ।’