गोपाल प्रसाद भट्टराई
ढाकावाङ्ग, अर्घाखाँची असार–३० । भुमिकास्थान २ को उपल्लो ढाकावाङ्गमा हिजो सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा झन्डै ३ सय जनाले स्वास्थ्य जांच गराएका छन् ।
वडा कार्यालयको आयोजना र ढाकावाङ्ग खानेपानी तथा सरसफाई आयोजनाको समन्वयमा सम्पन्न शिविरमा ढाकावाङ्गको च्यान्डांडा,काउले,रिपाहा,उपल्ला गाउं,तल्ला गाउं,झांक्रीसाल लगायतका गाउँबाट ३ सय जना बिरामीहरुले निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गराएको ढाकावाङ्ग खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति सचिव नारायण खनालले जानकारी दिनुभएको छ ।
शिविरमा झाडापखाला,भाइरल ज्वरो,ढाँड कम्मर टाउको दुख्ने,ग्यास्टिक, ब्लड प्रेसर र युरिकेसिड लगायतका बिरामी फेला परेको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । जस मध्ये अधिकांशमा झाडापखलाको समस्या देखिएको स्वास्थ्य कर्मीहरुले बताएका छन् ।
बर्षायाम संगै दुषित पिउनेपानी र भाइरलका कारण झाडापखला र ज्वरोका बिरामी बढि हुने हुंदा सर्तक हुनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।
पानीलाई उमालेर वा फिल्टर गरेर सुद्ध बनाएर मात्रै पिउनुपर्ने,खानाखानु अघि र पछि राम्रो संग साबुन पानीले हात धुनुपर्ने,घरायसी र ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा शिविरमा सहभागि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
ढाकावाङ्ग स्वास्थ्यचौकी इन्चार्ज इशा खड्काको नेतृत्वमा सेवा प्रदान गरिएको शिविरमा बिरामीलाई चेक जांच गर्दा आवस्यक औषधि समेत निशुल्क बितरण गरिएको हो ।