अर्घाखाँचीमा जडन, मार्सी धान लगायत ३० थरीमध्ये २५ थरीका जात लोप

पाली स्थित काउछेबेसीमा देखिएको धान फाट ।
वीरेन्द्र केसी कान्तिपुर 
ढाकाबाङ, अर्घाखाँची । घरभित्र कसौंडीमा पाक्दै गरेको चामलको बाहिरसम्म बास्ना आउँछ । खानलाई नरम, स्वादिलो, स्वस्थकर र मिठो । युवा उमेरसम्म शीतगंगा नगरपालिका जलुकेका हिमलाल बेल्बासेको रोजाइ बास्मती चामलको भात थियो । दमारबेंसी फाँटमा बास्मती धान रोप्ने गरेको सम्झना उनलाई छ । अहिले उनी त्यो धान रोप्दैनन् ।
‘खानलाई मिठो भएर के गर्ने ? थोरै फल्छ,’ उनले भने, ‘उन्नत जात र हाइब्रिड रोपेको छु । अहिले त कुन धान धेरै फल्छ, त्यही रोप्ने हो ।’
अचेल बास्मतीको बीउसमेत पाइँदैन । काली मार्सी, जडन, अनदी र टाइचन जातका धानसमेत लोप भइसकेका छन् । घरमा आउने पाहुनालाई यही धानको चामलको भात खुवाउँथे । बजारमा आएको उन्नत र हाइब्रिड जातले रैथाने विस्थापित भइसके । ‘कहिलेकाहीँ स्वाद फेर्नलाई थोरै जग्गामा रोप्न बीउ खोज्दा पनि कतै पाइएन,’ बेल्बासेले भने । थोरै जग्गामा धेरै उत्पादनको होडबाजी र कृषि कार्यालयले उन्नत र हाइब्रिड भित्र्याएपछि रैथाने धान हराउँदै गएको उनले बताए । ‘हाइब्रिड र उन्नत जातको धान उत्पादन तेब्बर हुन्छ,’ उनले भने, ‘तर, खानलाई मिठो, स्वादिलो र नरम त उही रैथाने नै थिए । नयाँ जातको चामल खानलाई रसिलो छैन ।’ खोज्दा बीउ पाइएसम्म बास्मती, काली मार्सी, सानो र ठूलो मार्सी, अनदी, जडन धान नै थोरै जग्गामा खेती गर्ने सोचमा उनी छन् ।
बिरामी परेका बेला तागत दिन्छ भनेर यही धानको चामलको भात खाने चलन थियो । भिटामिन ‘बी’ कम्प्लेक्स र पोषक तत्त्वको मात्रा बढी भएको धान मानिन्छ । तर, उत्पादन थोरै भएकाले हराउँदै गएको छ ।
छिमेकीको खेतमा लटरम्मै धानका बाला फलेको देखेपछि दमारबेंसीका टानबहादुर पुलामीको मन बदलियो । लामेलगायत रैथाने जात चटक्कै छाडेर २० रोपनी खेतमा हाइब्रिड खेती गरेका छन् । ‘धेरै फलेपछि बिक्री गर्नसमेत पुगेको छ,’ उनले भने, ‘रैथानेभन्दा हाइब्रिड र उन्नत झन्डै तेब्बर फल्यो । बाला लामा, बोट छोटो भएपछि ढल्दैन ।’ थोरै फल्ने भएकाले रैथाने जात जोगाउन मुस्किल परेको उनले बताए ।
धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसंख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान रहेको उनले बताए । बास्मती, अनदी, काली मार्सीलगायत रैनाथे प्रतिहेक्टरमा २.६ टन उत्पादन हुन्छ भने खुमल ८ जातको धान ७.७ टन उत्पादन हुन्छ । हाइब्रिड त्यसभन्दा पनि धेरै फल्छ ।
ढाकाबाङका वृद्ध भीमकान्त खनाल पुरानो जात लोप भएकामा चिन्तित छन् । ‘हाम्रो पालामा मलका लागि गोठभरि गाईभैंसी र बाख्रा पाल्थ्यौं,’ उनले भने, ‘मल, छापो र पातपतिंगर बाक्लै राखेर रोप्नुभन्दा साताअघि खेत हिल्याएर राख्थ्यौं । आकाशबाट पानी पर्नासाथ धमिलो पानीले खेत भिजाइँदा मल प्रशस्त पुग्थ्यो ।’ अहिलेको खेती गराई उनलाई पटक्कै मन पर्दैन । नयाँ जातको धान युरिया मलकै भरमा फलाइन्छ । गाईभैंसीको मल र बाख्राको जुतो (मल) खासै पर्दैन । बुढेसकालमा मिठो नभए पनि खानुपरेको उनले बताए ।
खाकाबेंसीको २५ रोपनी खेतमा धान खेती हुन्थ्यो । आकाशको पानीको भरमा खेती हुने टारी खेत अहिले बाँझै छन् । ‘मैले यही खेतबाट आठजनाको परिवार पालेको थिएँ,’ खनालले विगत सम्झे, ‘अहिले तेब्बर फल्ने धानले चारजनाको परिवारलाई वर्ष दिन दु:ख गर्दा ६ महिनालाई खान पुग्दैन । कारण, गोबर मल नहाल्नु र युरियाकै भर पर्नु हो ।’ बजारको चामलको भात निल्नै मुस्किल परेको उनले बताए ।
बाङलाको मथुराबेंसीको चार रोपनी खेतमा भूमकला पाण्डेले हाइब्रिड जात रोप्छिन् । घरमा बीउ रहँदैन । ब्याड राख्ने बेलामा एग्रोभेटमा जान्छिन् र बीउ ल्याएर राख्छिन् । बर्सेनि बीउ फेर्छिन् । ‘बजारमा बीउ आइहाल्छ,’ उनले भनिन्, ‘थोरै जग्गामा धेरै उत्पादन हुने भएकाले बर्सेनि एग्रोभेट पसल धाउँछु ।’ पुरानो धानको चामलको भात मिठो त हुन्थ्यो तर के गर्ने थोरै फल्छ, कृषि कार्यालयका प्राविधिकले पनि उन्नत र हाइब्रिडकै कुरा गर्ने उनले बताइन् ।
अर्घाखाँचीमा रैथाने जडन, सानो र ठूलो मार्सी, काठे धान, पालुंगे, बुचे, अनदी, टाइचन, बास्मती, लामे, जिनुवा, काँचुलीलगायत ३० थरीमध्ये २५ थरीका जात लोप भइसके । जिल्लामा ८ हजार १ सय ८९ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिन्छ ।
त्यसबाट २४ हजार ४ सय ९० टन उत्पादन हुन्छ । ४ सय ८३ हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती हुन्छ । त्यसबाट ९ सय ५६ टन धान उत्पादन हुन्छ । हर्दीनाथ एक, हिर्दीनाथ दुई, चैते एक र चैते दुई जातका धान हिउँदमा रोपिन्छ ।
वर्षेमा हाइब्रिड, उन्नत, खुमल ४, ८ र १० जातका धान यतिबेला धमाधम रोपाइँ भइरहेको कृषि प्रसार अधिकृत थीरलाल गैरेले बताए । अहिलेसम्म १५ प्रतिशत रोपाइँ भएको छ । ‘एक रोपनीमा रैथाने जातको धान २ सय किलो, उन्नत ३ सय किलो र हाइब्रिड ५ सय किलोसम्म उत्पादन हुन्छ तर खानलाई खासै मिठो हुँदैन,’ गैरेले भने, ‘धेरै उत्पादन गर्ने होडले रैथाने जात लोप भइसके ।’