अर्घाखाँचीमा प्रेमविवाह, वैदेशिक रोजगारी र यौन चाहनाका कारण सम्बन्धविच्छेदका घटना बढे, ९० प्रतिशत ३० वर्षमुनिका

Image result for सन्धिखर्कको चुत्राबेशी जाने पुल मुनी बसेका
सन्धिखर्कको चुत्राबेशी जाने पुल मुनी बसेका एक १५, १६ वर्ष उमेरका जोडी । अर्घाखाँचीडट्कम/ फाइल तस्बिर 

प्रेमनारायण आचार्य
सन्धिखर्क,  अर्घाखाँची १२ साउन २०७५ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ की माया पौडेलले दुई वर्षअघि १८ वर्षको उमेरमा प्रेम विवाह गरिन्। बिहे भएको एक वर्ष ननाघ्दै पतिसँगको उनको सम्बन्ध चिसियो। बिहेको १४ महिनापछि सम्बन्धविच्छेद नै भयो। सुरुमा मन मिलेर प्रेम विवाह भए पनि पछि पतिपत्नीको मनमुटावले विवादको रूप लिँदा सम्बन्धविच्छेद हुन पुग्यो।
शीतगंगा नगरपालिका–३ ठाडाकी उमा आचार्यले पनि सम्बन्धविच्छेद गरिन्। उनको भनाइअनुसार विदेश गएका पतिले लाञ्छना लगाएपछि सम्बन्ध तोड्नुप-यो। बिहे गरेको तीन वर्षमै सम्बन्ध तोडिएकी आचार्य २५ वर्ष टेक्दै छिन्। पछिल्लो समय अर्घाखाँचीमा सम्बन्धविच्छेद गर्ने ९० प्रतिशत महिला ३० वर्षमुनिका छन्। बिहे गर्ने उमेरमै सम्बन्धविच्छेद भएपछि आत्महत्या र मनोरागीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।
सम्बन्धविच्छेद गर्नेहरू अधिकांश प्रेम विवाह गरेका र वैदेशिक रोजगारीमा गएकाहरू छन्। प्रेमविवाह, पति बिदेसिएको समयमा पत्नीहरूकाबारे परिवारमा अनावश्यक शंका नै सम्बन्ध तोडिने विषय बन्दै आएको हो।
अधिवक्ता तथा प्राध्यापक जगन्नाथ भुसाल भन्छन्, ‘सूचना प्रविधिको बढी पयोग, समाजमा बढ्दै गएको खुला यौन सम्बन्ध, चाहनाविपरीत परिवारले विवाह गरिदिनु, पतिले पत्नी तथा बुहारीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्धविच्छेदका घटना वृद्धि भएका छन्, यो निकै डरलाग्दो गरी बढेको छ।’
पछिल्लो तीन वर्षमा आफूले बहस गरेका ५१ मुद्दामा यी कारण प्रमुख देखिएको उनले बताए। अर्घाखाँचीमा प्रेमविवाह, वैदेशिक रोजगारी र यौन चाहनाका कारण सम्बन्धविच्छेदका घटना बढेको भसालले बताए।
अर्घाखाँचीमा गत आर्थिक वर्षमा ७२ दम्पतीले सम्बन्धविच्छेद गरेका छन। जसका कारण वैवाहिक जीवनमा बाँधिएका ७२ पुरुष र ७२ महिला अलग्गिए। एक वर्षमा सम्बन्धविच्छेदका लागि ८२ दम्पतीले जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा ७२ वटा फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार मोहन बेल्बासे बताउँछन्। १० वटा सम्बन्धविच्छेदका मुद्दा फैसला गर्न बाँकी छन्।
 सम्बन्धविच्छेद गर्नेमा अधिकांश ३० वर्षमुनिका छन्। यस वर्ष ३० वर्षमाथिका ५ जोडीले मात्र सम्बन्धविच्छेद गरेका छन्। यसमा पनि २५ वर्षमुनिका करिब ७० प्रतिशत रहेका जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए। पतिपत्नीको झगडामा परिवारका अन्य सदस्यले पैरवी नगर्दा धुमधामसँग गाँसिएको सम्बन्ध एकै दिनमा टुट्ने जानकारहरू बताउँछन्। अधिवक्ता भुसाल भन्छन्, ‘यस्तो डरलाग्दो सम्बन्धविच्छेदले अन्य ठूला सामाजिक विकृति भिœयाउन सक्छन्। यसको नियन्त्रणका लागि सचेतना आवश्यक छ।’
२२३ मुद्दा फैसला
जिल्ला अदालतमा सम्बन्धविच्छेदसहितका २ सय ८५ मुद्दामध्ये २ सय २३ मुद्दाको छिनोफानो भएको छ।
फैसला हुन बाँकी ६२ थान मुद्दा वर्ष दिन ननाघेका छन्। बाँकी मुद्दामध्ये ९ थान ६ महिना नाघेका र ५३ थान ६ महिनाभित्रका रहेका गैरेले जानकारी दिए। अदालतमा दर्ता भएका मुद्दामा सम्बन्धविच्छेद, अंश, मानाचामल, जबर्जस्ती करणी, लेनदेन, जग्गासम्बन्धी, लिखत बदर, कर्तव्यज्यानलगायत रहेका सूचना अधिकारी गैरेले जानकारी दिए।