वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । हतारमा कार्यालयको नाम उल्लेख गरिएको बोर्ड फेरियो । काम नभएपछि फेरि पुरानै नाम कायम गरियो । संघीय संरचनाअनुसार स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई सन्धिखर्क नगरपालिकामा गाभियो ।
कार्यालयलाई नगरपालिकामा उद्योग विकास शाखा बनाएर ०७४ साउन १ गते बोर्ड परिवर्तन गरियो । माघमा शाखा हटाएर पुरानै नाम यथावत् गरिएको छ । शाखाको रूपमा नयाँ काम भएन ।
उद्योग विभागले विनियोजन गरेको बजेटमा रहेर पुरानै काम गरियो । सन्धिखर्क नगरको शाखा बनाइए पनि अरू पाँच स्थानीय तहमा कर्मचारी अभावले शाखा खुलेन । ‘पालिकामा गाभिँदा कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम भुक्तानी गरिदिएन,’ कार्यालय प्रमुख कमल कार्कीले भने, ‘त्यसैले बोर्ड फेर्यौं । शाखा भएपछि नयाँ काम केही भएन ।’ सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विकसँग सामान्य छलफल भए पनि नयाँ योजना अघि सारिएन । पालिकाले खासै वास्ता पनि गरेनन् ।
घरेलु विभागसँग परामर्शपछि नयाँ बोर्ड फालेर पुरानै राखिएको उनले बताए । जिल्लामा तीन नगर र तीन गाउँपालिका छन् । कुनैले पनि एक रुपैयाँ छुट्याएनन् । अघिल्लो आवमा विभागबाट एक करोड २७ लाख ७३ हजार रुपैयाँको बजेटमा चार सय ८३ जनालाई घरेलुसम्बन्धी तालिम दिइएको उनले बताए । सिलाइ, बुटिक, सल, झोला, बाँसका हस्तकला र उद्यमशीलता कार्यक्रम पालिकासँगको समन्वयमा गरिएको उनले बताए । ‘नगर र गाउँसभामा अन्य विकास योजनामा बजेट विनियोजन गरे पनि घरेलुका लागि नछुट्याएपछि कसरी काम गर्ने ?’ उनले भने, ‘राजस्व उठाउन पनि समस्या भयो ।’ पहिले त विभागबाटै समितिलाई बजेट आएको थियो । यो आवमा केही कार्यक्रम आएन ।
‘प्रदेश सरकारमार्फत बजेट आउँछ भनिएको छ,’ उनले भने, ‘हामी कुरेरै बसेका छौं । अब फेरि बोर्ड फेरिन्छ कि फेरिँदैन थाहा छैन ।’ सन्धिखर्क नगरमा गाभिएर शाखा भए पनि काम पुरानै तरिकाले गरिएको थियो । लेटरप्याड पनि समितिकै नाममा चलेको थियो । काम केही नभएपछि विकास शाखाको लेटरप्याड बनाइएन । दुई कार्यालय सहयोगी, एक लेखापाल, एक प्राविधिक, एक खरिदार र कार्यालय प्रमुख रहेका छन् । घरेलुले गर्ने उद्यमशीलता, लघुवित्तसहित विभिन्न तालिम पालिकाले घरेलुलाई सम्पर्क नै नगरी आफ्नै तरिकाले सञ्चालन गरेका छन् ।
‘नाम के छ थाहा छैन,’ सन्धिखर्क नगर उपप्रमुख विकले भने, ‘समन्यव गरी काम गरेका छौं । घरेलुका आफ्नै कारण होला नाम फेर्ने तालिमका लागि व्यवस्थापकीय काममा आवश्यकताअनुसार छलफल भएको छ ।’ भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले सिलाइ कटाइ, ढाका बुनाइलगायतमा महिला लक्षित शीर्षकमा बजेट छुट्याएर कार्यक्रम गरिरहेको बताए । युवा स्वरोजगारमा पनि युवा लक्षित कार्यक्रम छन् । पालिकामा घरेलुको विकास शाखा छैन । अहिलेसम्म घरेलु समितिसँग कुनै समन्वय छैन, उनले भने ।
पालिकाले आफ्नै ढंगले कार्यक्रम सञ्चालन गरेपछि समितिले फर्म दर्ता, नवीकरणलगायतमात्रै गरेको छ । पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले पालिकामा घरेलु विकास शाखा स्थापना नभए पनि ढाका बुनाइ, सिलाइकटाइ र सीपमूलक कार्यक्रम सञ्चालन गरिएको बताइन् । स्वरोजगार र सीपमूलक तालिम गर्न घरेलुसँग कसरी काम लिने भन्ने आइडिया जनप्रतिनिधिमा नभएको बुद्धिजीवीको भनाइ छ ।