सागर परियार
सन्धिखर्क, अर्घाखाँची ३ भदौ २०७५ । ११ औँ राष्ट्रिय सूचना दिवस ‘सुचना हाम्रो अधिकार, सुशासन र विकासको आधार, कुनै पनि सार्वजनिक सरोकार, थाहा पाउने नागरिकको अधिकार’ भन्ने मुल नाराका साथ आईतबार देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
दिवसको दिन एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीद्धारा गठित सुशासन प्रवद्र्धनका निम्ती जिल्ला स्तरीय नागरिक सञ्जालले सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल र प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ज्ञापनपत्र बुझाएका हुन । सञ्जालका संयोजक फर्सुराम पाण्डे, एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदयकुमार भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ लगाएतका नागरिक समाज संस्थाको प्रतिनिधीको उपस्थितीमा ज्ञापन पत्र बुझाईएको हो ।
‘नेपालको संविधान २०७२ ले धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको कुरा सर्बविदितै छ । सूचनाको हक सम्बन्धी ऐन २०६४, नियमावली २०६५ साथै स्वतः प्रकाशन गर्नु पर्ने विवरण सम्बन्धी निर्देशिकाले समेत कसैले नमागेपनि स्वत रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । सूचना सार्वजनिक गर्दा सार्वजनिक निकायलाई जवाफदेहि, पारदर्शी र उत्तरदायी बनाउन सघाउ पुग्ने ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख भुसालले शुसासन र जवाफदेहीताप्रति सकारात्मक रहेको बताउनुभयो । प्रजिअ भुसालले मागेको सूचना सवै सार्वजनिक निकायले दिनुपर्ने भन्दै ध्यानाकर्षण पत्रलाई कार्यालय प्रमुखको बैठकमा छलफल बताउनुभयो ।