सन्धिखर्कमा सालझण्डी-ढोरपाटन सडक सन्चालन तथा निर्माण सम्बन्धि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको समन्वयमा गुल्मि अर्घाखाँचीको महत्वपूर्ण तथा  रणनैतिक सालझण्डी-ढोरपाटन सडक  सन्चालन  तथा निर्माण सम्पन्न गर्न सरोकारवाला निकायसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, जिल्ला समन्वय समिति अर्घाखाँचीका उप-प्रमुख ऋषि बहादुर पुलामी, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, प्र.ना.उ. नवराज मल्ल, अनुसन्धान प्रमुख गोपाल पन्थी, सालझण्डी-ढोरपाटन सडक डिभिजन कार्यालयका प्रमुख होम बहादुर ए.सी., उद्योग वाणिज्य संघ गुल्मी र अर्घाखाँचीका प्रमुख तथा प्रतिनिधि, सो सडक आयोजनका निर्माण कम्पनीका प्रतिनिधिहरू, पत्रकार महासंघ गुल्मी र अर्घाखाँचीका प्रमुख र प्रतिनिधि लगायतले मन्तब्य राख्नु भएको थियोे ।
अन्तर्क्रिया र छलफल कार्यक्रमबाट सालझण्डी-सन्धिखर्क-ढोरपाटन र सालझण्डी-तम्घास सडक खण्ड निर्माणमा देखिएको ढिलाई प्रति चिन्ता व्यक्त गर्दै निर्माण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन सालझण्डी-ढोरपाटन सडक डिभिजन कार्यालय र सम्बन्धित ठेकेदार कम्पनीको ध्यान आकृष्ट गर्ने र समय मै काम सम्पन्न गर्ने अवस्था नदेखिएमा कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रअजिअ खिमराज भुसालले बताउनु भयो ।
त्यसैगरी छलफल तथा अन्तर्क्रियाबाट सन्धिखर्क-ढोरपाटन सडक खण्डको डि.पि.आर. तयार गर्ने क्रममा देखिएका विवाद निरूपणका लागि सम्बद्ध सरोकारवाला सबै पक्षहरू तदारूकताका साथ लाग्ने साथै अर्घावाङ्ग देखि सालझण्डी सम्म अगामी वडा दशै अगाडी नै यातायात सेवा सञ्‍चालन गर्नका लागि सडकको सुधार तथा स्तरोन्नति गर्ने, तम्घास-खर्ज्याङ्ग-पटौटी सडक खण्डमा समेत सहज रूपमा यातायात सञ्‍चालन गर्न मिल्ने गरी निर्माण कार्य अगाडि बढाउन आयोजना प्रमुख र निर्माण व्यवसायीको ध्यान आकर्षण गराउने निर्णय गरि कार्यक्रम सम्पन्न भएको छ ।