अष्ट्रेलियामा सत्तारुढ लिबरल पार्टीले वहालवाला प्रधानमन्त्री मालकोम टर्नबुललाई हटाएर स्कट मोरिसनलाई नयाँ प्रधानमन्त्रीका रुपमा चुनेको छ ।
अष्ट्रेलियाको ३० औं प्रधानमन्त्री चुनिएका मोरिसनले प्रतिष्पर्धी पिटर डटनलाई गोप्य मतदानमा ५ मतले पराजित गरे । मोरिसनले ४५ मत प्राप्त गर्दा पूर्व गृहमन्त्री डटनले ४० मतमात्रै प्राप्त गरे । अर्की प्रतिश्पर्धी जुली बिसप भने पहिलो चरणबाटै बाहिरिइन् ।
अष्ट्रेलियामा सन् २००७ को निर्वाचन पछि ६ जना प्रधानमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि डटनले मालकोम टर्नबुललाई प्रधानमन्त्रीबाट नहटाए आउँदो वर्ष मेमा हुने निर्वाचन जित्न नसकिने धारणा राखेका थिए ।
सन् २०१५ मा प्रधानमन्त्री बनेका टर्नबुल नयाँ प्रधानमन्त्री छान्न लिबरल पार्टीका बहुमत सांसदले आवेदन दिएपछि हटेका हुन् । उनले संसदबाटै राजीनामा दिने पनि बताएका छन् ।
टर्नबुलले पत्रकार सम्मेलनमा पार्टीभित्रका केही मानिस र मिडियाका केही शक्तिशाली आवाजले सरकार ढाल्नभन्दा आफूलाई प्रधानमन्त्रीबाट हटाउन योजनाबद्ध रुपमा काम गरेको बताए । (एजेन्सी)