अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्दारा आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन चेतावनी

news
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन चेतावनी दिएका छन् ।
एक अन्तरवार्तामा ट्रम्पले आफूविरुद्ध महाभियोग लगाइएमा देशकै अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने भन्दै अमेरिकीहरु गरिब हुनुपर्ने चेतावनी दिएका छन् ।
उनका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनका क्रममा ट्रम्पका तर्फबाट वित्तीय नियमहरु उल्लंघन गरिएको स्वीकार गरेलगत्तै महाभियोग प्रस्तावको सम्भावनाबारे चर्चा भइरहँदा पहिलोपटक ट्रम्पले महाभियोगबारे धारणा सार्वजनिक गरेका हुन् ।
ट्रम्पका पूर्ववकिल माइकन कोहेनले निर्वाचन अभियानसँग जोडिएका वित्तीय नियम उल्लंघन भएको स्वीकार गरेका हुन् । यस्तो कामका लागि आफूलाई ट्रम्पले निर्देशन दिएको उनले अदालतसमक्ष बताएका छन् ।
ट्रम्पले अन्तरवार्तामा भनेका छन्, ‘मलाई थाहा छैन कि तपाईहरु त्यो व्यक्तिविरुद्ध कसरी महाभियोग ल्याउनु हुन्छ जसले यति राम्रो काम गरेको छ ।’ आफूविरुद्ध महाभियोग लगाइए बजार तहसनहस हुने र अमेरिकी नागरिक गरिब हुने उनको भनाइ छ । (एजेन्सी)