चितवन, चितवनको नारायणगढबाट दुई केजी ७६ ग्राम सुन र चार केजी ६१७ ग्राम चाँदीसहित एकजना पक्राउ परेका छन् ।
बरामद गरिएका सुनचाँदी र नगद बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । भरतपुर महानगरपालिका–१ पुतली बजारमा डेरा गरि बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट सो सुन र चाँदी तिब्बतसँग नाका जोडिएको रसुवाबाट अवैध रुपमा भित्र्याईएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । पक्राउ परेका पाटिलले केही परिमाणमा काँचो सुन बिक्री गरिसकेको र सो बिक्रीबाट प्राप्त नगद १२ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले बताए ।
बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड रुपैयाँ बराबर छ । विगत १० वर्षदेखि नारायणगढमा सुन बिक्री वितरण गर्ने रिफाईनिङ गर्ने काम गर्दै आएका पाटिललाई भदौ १८ गते एक भारतीय नागरिकले सो सुन ल्याईदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अुनसन्धान पश्चात बरामद गरिएका सुनचाँदी, नगद र पक्राउ गरिएका पाटिललाई भन्सार ऐन २०७४ अनुसार विस्तृत अुनसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
चितवनमा माग अनुसार सुनचाँदी आपुर्ती नहुँदा पटक–पटक अवैध रुपमा भित्रिने गरेको गरेको छ । केही दिन अघि मात्र चितवनका सुनचाँदी व्यवसायीहरुले माग अनुसारको सुनचाँदी नपाएको भन्दै दुईदिन पसल ठप्प पारेका थिए । इमेज खबरमा समाचार छ ।