अर्घाखाँचीमा सार्वजनिक सवारी साधनहरु नियमित सुचारु

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएपछिक अर्घाखाँची जिल्लामा पनि सार्वजनिक सवारी साधनहरु आजदेखि नियमित सुचारु भएका छन् ।
सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच काठमाडौंमा ८ बुँदे सहमति भएपछि चालकहरुले अर्घाखाँचीमा पनि आजैदेखि गाडी चलाउन थालेका हुन् । सन्धिखर्कबाट सवारी साधनहरु आजदेखि नियमित सुचारु भएका छन् ।  
दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए । 
कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।
चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो ।