श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असोज ७ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा आईतबार नेपाल महिला संघ अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन ।
नेपाली काँगे्रस निकट नेपाल महिला संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा निकालिएको जुलुसले सन्धिखर्क बजार परिक्रमा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । दुईमहिना बितिसक्दापनी हत्यारालाई पत्ता लगाउन नसक्ने सरकारले राज्य सञ्चालन गर्न नसक्ने भन्दै उनीहरुले सरकारको राजीनामाको माग समेत गरेका थिए ।
जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दे संघकी जिल्ला अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला उपसभापति शान्ता भण्डारीले राज्यले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दा मुलुकमा सुशासन, न्याय र कानुनी राज्यकै उपहास भएको बताइन् ।
दुई तिहाई बहुमतको सरकार आइसकेपछि देशमा अमन चयन हुने विश्वास लिएका सर्वसाधारणले श्रंखलावद्धरुपमा बढ्दै गएको महिला हिंसाका घटनाले लोकतन्त्रकै उपहास भएको उनको भनाई रहेको थियो ।