अर्घाखाँची अस्पताल भाइरल ज्वरोका बिरामीले भरिभराउ, बाटो-गल्लीमा राखेर उपचार गर्न बाध्य (तस्बिर सहित)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । केही दिनदेखि यता अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा भाइरल ज्वरोबाट प्रभावित बिरामीको संख्याको चाप व्यापक रुपमा बढ्दै गएको छ ।
जिल्ला अस्पताल अर्घाखाँचीका अनुसार अहिले दैनिक १ सय ५० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीको अस्पतालमा उपचार तथा भर्ना गराउन आउने गरेपछि बिरामीको चाप ह्वात्तै बढेको हो ।
१५ श्ययाको अस्पताल रहेको जिल्ला अस्पताल अर्घाखाँचीले अहिले बिरामीको चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर अन्यत्र बाटो, गल्लीमा राखेर उपचार गर्न बाध्य हुन परेको कुरा जिल्ला अस्पताल मेडिकल सुपरिटेन्डन  प्रमुख डा. जगतनाथ तिवारी बताए ।
दैनिक बिरामीको संख्या १५० सम्म बढ्दै जान थालेको र बेड खाली नभएपछि अहिले बिरामीलाई व्यवस्थापन गर्न नै हम्मे पर्ने गरेको समेत तिवारीले बताए ।
उनका अनुसार दैनिक बिमारी संख्या १ सय देखी १ सय ५० सम्म आउने गरेकाले जस मध्ये ४० प्रतिशत भाईरल ज्वरोका बिमारी आउँने गरेका बताए । 
बिरामीले आँफैले कम्मल, कपडा ल्याएर अस्पतालका गल्ली, बाटोमा सुतेर उपचार गर्न वाध्य छन् । इमरजेन्सी (आकस्मिक) फाँटदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिभराउ भएपछि अन्य उपचारका लागि आएका बिरामीलाई समेत बेड व्यवस्थापन गर्न समस्या रहेको समेत अस्पताल ब्यवस्थापन समितिले बताएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा व्यापक भाइरल ज्वरो फैलिन थालेपछि जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीको चाप ह्वात्तै बढेको कुरा अस्पताल प्रशासनले जनाएको  छ ।
वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन र वर्षाको कारण बाढीले फोहरवस्तु बगाउने र दुर्गन्ध फैलने गरेको कारण पनि अहिले भाइरलको प्रकोप फैलिन थालेको जिल्ला अस्पताल अर्घाखाँचीले  जनाएको छ ।
सन्धिखर्क नगरपालिकाद्दारा स्वास्थ्य संस्थालाई अौषधी बितरण
यस्तै सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाले नगर भित्र रहेका स्वास्थ्य संस्थालाई अौषधी बितरण गर्ने प्रक्रिया शुरु गर्न लागेको छ ।
निशुल्क अौषधिहरु अब बितरण गर्ने तैयारी सुरु गरिएको नगर उपप्रमुख ठाकुर कुमार बिकले जानकारी दिए ।