अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट चाडपर्वहरूको अगाडी हुन सक्ने कालो बजारी तथा अखाद्य वस्तुहरूको बिक्रि वितरणलाई नियन्त्रण गर्न शुरू गरेको बजार अनुगमन अभियानको तेस्रो दिनको अनुगमन कार्य सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट तेस्रो दिन हिजो बिहीवार मालारानी गाउँपालिका अन्तर्गतका ग्रामीण बजारहरू चौरी, डाडाकटेरी, खनदह, रतनमारे, बाँगी लगायतका स्थानहरूमा अनुगमन गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका ना.सु. तारा प्रसाद पाण्डे, लक्ष्मी घिमिरे, को.ले.नि.का. अर्घाखाँचीका स.ले.पा. ओम प्रसाद श्रेष्ठ लगायत ई.प्र.का. खनदह प्रहरी चौकी रतनमारेका जुनियर प्रहरी अधिकृतहरू रहनु भएको थियो ।
अनुगमन टोलीले मालारानी गाउँपालिका अन्तर्गतका ग्रामीण बजारहरू चौरी, डाडाकटेरी, खनदह, रतनमारे, बाँगी लगायतका स्थानहरूमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य वस्तु र पेय पदार्थ जफत गरेको छ ।
जफत गरिएका खाद्य वस्तुहरूमा चाउमिन, भुजा, सोयाविन, सूजी बेसन, सूर्यमूखी तेल, विभिन्न ब्राण्डका चिप्सहरू, बिस्कुट, ब्रेड, चाउचाउ, चियापत्ती, आटा, सर्वोत्तम पिठो रहेका छन् ।
त्यसै गरी म्याद गुज्रिएका कोक, फेन्टा, स्प्राईट, मिरिण्डा, वियर, फ्रुटि लगायत पेय पदार्थहरू पनि अनुगमन टोलीले बरामद गरेको छ । अनुगमन टोलीले मापदण्ड विपरीतका ढक र तराजु जफत गरी सम्बन्धित व्यवसायीलाई कारवाही प्रक्रिया अघि बढाएको छ । आम उपभोक्ताको स्वास्थ्य सँग प्रत्यक्ष असर पार्ने खाद्य वस्तुको उत्पादन, बितरण एवं लेवल राख्ने कार्यमा गम्भिर लापरवाही देखिएका उद्योगी व्यवसायी, विना ईजाजत मदिरा एवं सूर्तिजन्य पदार्थको कारोवार गर्ने व्यवसायीहरूलाई तारेखमा राखी कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।
बजार अनुगमनको सूईको पाएर पसल बन्द गर्ने व्यवसायीको प्रवृतिले निरन्तरता पाएकोमा बजार अनुगमनको कार्यलाई डरको रूपमा नलिई सहजिकरणको रूपमा लिन, बिधिवत रूपमा व्यवसायी सञ्चालन गर्दाका उपादेयता र फाईदाहरूको बारेमा स्थानीय व्यवसायीहरूलाई स.प्र.जि.अ. विक्रम थापाले आवश्यक सल्लाह एवं परामर्श दिएका थिए ।
बजार अनुगमन भएकोमा आम उपभोक्ताले खुशी प्रकट गर्दै अनुगमन टोलीलाई धन्यवाद प्रकट गर्दै अनुगमन कार्यलाई निरन्तरता दिन अनुरोध गरेका छन् । अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका स.प्र.जि.अ. विक्रम थापाले यस्तो अनुगमन कार्यले भविष्यमा पनि निरन्तरता पाउने बताउदै आम उपभोक्तालाई खाद्य वस्तु तथा पेय पदार्थको उपभोगमा सधै सचेत रहन आग्रह गरे ।