अर्घाखाँचीको मौलीक नाच सराये

प्रेमनारायण आचार्य   
सन्धिखर्क ७ कात्तिक ।     हिन्दूहरुको महान पर्व वडादशैं अन्तर्गत दशमीको दिन देखि कोजाग्रत पुर्णिमा सम्म नाचिने सराये नाच अर्घाखाँचीको मौलिक नाच हो । सराये नाच अर्घाखाँचीको अर्घा भगवती मन्दिर सहितका मन्दिरबाट नाच्न सुरुवात भएको सस्कृतिविदहरु बताउन्छन ।  तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देबी खुसी हुने बिस्वास रहेको छ । 
सराये नाच अर्घाखाँचीको मौलीक नाच हो । जिल्लाका अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडा, लगायतका देबीका मन्दिर तथा शक्ति पिठहरुमा यो नाच नाचिने अर्घाका समाजसेवी बाबुराम भुसालले बताए ।   देबीले महिसासुर र शुम्भको बध गरेको दिन बिजया दशमीको दिन देखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरु बताउन्छन । सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढि प्रचलित छ । 
 हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराये नाच नाच्न गरिन्छ । 
अर्घाको अर्घा भगबती मन्दिरमा सराये नाच पुर्णिमा मेला सहित  फूलपाती विसर्जन गरि यस बर्षका दशैको समापन गरिने  स्थानीय बासिन्दाले बताएका छन ।