अर्घा भगवती मन्दिरमा एतिहासिक सराँय नाच तथा राष्ट्रिय जनमोर्चाको विशाल सभा सम्पन्न (भिडियो,तस्बिर सहित)
कार्तिक ७ गते, २०७५ मा प्रकाशित
गोपाल प्रसाद भट्टराई / अर्घाखाँचीडट्कम संवाददाता
अर्घा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले मुलुकको संघियता खारेज नभए नेपाल नरहने उद्घोष गर्नुभएको छ । कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघियता आएको दाबी गर्दै अध्यक्ष के.सी.ले मुलुकमा संघियता टिके नेपाल रहन नसक्ने जिकिर गर्नुभएको हो ।
कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा आयोजना गरेको बिशाल सांस्कृतिक सभालाई सम्बोधन गर्दै उहांले यस्तो जिकिर गर्नुभएको हो । कर बृद्धि,महगीं र भ्रष्टचारको बिरोध,गणतन्त्र,राष्ट्रियता,धर्म निरपेक्षताको रक्षा र संघियताको खारेजी भन्ने मुल नाराका साथ ऐतिहांसिक स्थल अर्घाको रानीगैरामा आयोजित बिशाल जनसभालाई उद्घाटन गर्दै अध्यक्ष के.सी.ले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघियताबाटै सम्भव रहेको र यसको ज्वलन्त उदाहरण पाँच नं प्रदेशलाई तराईबाट छुट्टाउने खेल भएको बताउनुभएको छ । सम्बोधनको अधिकांश समय संघियता खारेजीको बिषयमै खर्चिनुभएका अध्यक्ष के.सी.ले एउटा सरकार संचालनको निम्ती बिदेशीसंग हार गुहार गर्नुपर्ने देशमा सात आठओटा सरकार संचालन गर्न नेपाली जनताले थेग्न नसक्ने,जनप्रतिनिधि नामका कर्मचारी पाल्न बृद्धि गरिएको कर तिर्न नसक्ने जस्ता उदाहरण दिंदै कुनै पनि पक्षबाट नेपालमा संघियता आवस्यक नभएको र टिक्न पनि नसक्ने बताउनुभएको छ ।
आजको दिन अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा एतिहासिक सराएँ नाच तथा बिविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । आज कोजाग्रत पुर्णिमा बडादशैको अन्तिम दिन । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । अर्घाखाँचीको एतिहासिक अर्घा मन्दिरमा आज निकालिने सराएँ नाच हेर्न तथा भगवती माताको दर्शन गर्न ८० हजार भन्दा बढि भक्तजनहरु उपस्थिति भएको मन्दिर सन्चालक समितिले जनाएको छ । अर्घाको पुणिमाको सम्भावित दुर्घटना रोक्न तथा शान्ती सुरक्षा कायम गर्न सुरक्षा ब्यबस्था समेत कडा पारिएको थियो ।
संघियता खारेज नभए नेपाल सिक्कीम बन्ने चेतावनी दिंदै अध्यक्ष के.सी.ले संघियताको खारेज गरि समृद्ध मुलुक निर्माणको निम्ती सबै जनता एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।अहिलेको सरकार कम्युनिष्टको नभएको दाबी गर्दै उहांले नझुक्किन जनतालाई आग्रह गर्नुभएको छ ।तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको पार्टी हो यो कम्युनिष्ट पार्टी होइन अध्यक्ष के.सी.ले भन्नुभयो वर्तमान सरकारको कार्यशैली परिवर्तन नभए देशमा अझै अराजकता बढ्दै जानेछ । उहांले सबै खाले गलत कदमलाई निस्तेज पार्ने गरि काम गर्न सरकारलाई सुझाव समेत दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको संचालनमा सम्पन्न सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव राज रेग्मी,राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बिसी, नेता सागर के.सी.,अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर लगायतका बक्ताहरुले सम्बोधन गर्दै नेपाली जनता कसैको दास र गुलामी नभएको भन्दै मुलुकको बाग्डोर समाल्नेहरूले विदेशीको चाकडी गरेकोमा आफूहरु चिन्तित भएको बताउनु भएको छ । आर्थिक उन्नतिका पूर्वाधारहरूको विकासमा व्यक्ति र पार्टी गत स्वार्थ भन्दा माथी उठेर काम गर्न सरोकारवालालाई उहांहरुको सुझाव रहेको छ ।
अर्घाखाँची सहित छिमेकी जिल्ला प्युठान,गुल्मी,कपिलवस्तु,रुपन्देही,पाल्पा लगायतका स्थानबाट हजारौं दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्ला कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि भरपुर मनोरन्जन समेत प्रदान गरेको छ ।