अर्घाखाँचीका टोलैपिच्छे गाउँ-गाउँमा ट्याक्सी सरर

वीरेन्द्र केसी कान्तिपुर 
अर्घाखाँची — पहाडी जिल्ला भए पनि यहाँका सबै गाउँ ट्याक्सी चढेर घुम्न पाइन्छ  । बस र जिप चल्न नसक्ने सडकमा पनि ट्याक्सी चल्छन्  ।
चुत्राबेंसीमा पार्किङ गरी राखिएका ट्याक्सी । 
कतारबाट दसैं मनाउन घर आएका हंसपुर साकिनधाराका पुनबहादुर जिसी कच्ची सडकमा ट्याक्सी चढेर घरमै पुग्न पाउँदा दंग परे । ‘श्रीमतीले शान्ति बगैंचामै कुरेर बसेकी रहिछन्,’ उनले भने, ‘साँझ परेकाले होटलमै बस्नुपर्ला भनेको त, ट्याक्सीले डेढ घण्टामा घरमै ल्याइदियो ।’ तीन वर्षअघि उनी स्वदेश आउँदा ट्याक्सी नचले पनि अहिले सुविधा थपिएको उनले बताए ।
अर्घाखाँची सडकको हिसाबले देशकै नमूना जिल्ला हो । जहाँ टोलैपिच्छे सडक खनिएका छन् । निजी लगानी र चन्दा उठाएर गाउँलेले आँगनमै बाटो पुर्‍याएका छन् । अधिकांश सडकमा ट्याक्सी गुड्छन् । बिरामी परेका बेला र अन्य कामले सदरमुकामबाट सबैले ट्याक्सी बोलाउँछन् । जिल्लाबाहिरबाट सन्धिखर्क आएका यात्रुले बजारमा रात बिताउनु पर्दैन ।
जिल्ला समन्वय समितिको तथ्यांक अनुसार २८ मुख्य, १६ सहायक स्तर, ५० गाउँस्तरीय र ९६ जिल्ला स्तरीय सडक छन । बामरुककी जानका बस्नेतका पति पनि सदरमुकामबाट ट्याक्सीमै घरमा आए । घरबाट सदरमुकाम तीस किमि दूरी छ । ११ बजे पति घरमै आएको उनले बताइन् । ‘सानो गाडीमा आउँदा बेलैमा परिवारसँग भेट हुन पाइयो,’ थानेश्वरले भने, ‘मेरो गाउँ कुनै बेला विकट थियो । अहिले टोल–टोलमा ट्याक्सी गुडदा बस्ती फेरिएको छ ।’
दशकअघिसम्म सन्धिखर्क गाडीमा ओर्लेपछि भरियालाई भारी बोकाएर पैदल हिँडेर घर आइपुग्न दिनभर लागेको उनले बताए । गाउँमा मोटरबाटो, बिजुली, इन्टरनेट सबै सुविधा छ । स्कुल, स्वास्थ्यचौकी छन् । गाउँमा बारीमा उब्जेको ताजा तरकारी खान पाइन्छ, स्वच्छ हावापानी छ, सहरमा बसाइँ सर्नु पर्दैन ।
चालक चन्द्रबहादुर थापाले जिल्लाका सबैजसो बाटोमा ट्याक्सी कुँदाएका छन् । ‘ट्रयाक्टरले अलि बाटो बिर्गाछ, वर्षामा खाल्डाखुल्डी र हिउँदमा धूलो तर्काएर भए पनि यात्रुलाई गन्तव्यमा पुर्‍याउँछौं,’ उनले भने, ‘धेरैका घर जाने साँधुरा बाटा छन् । त्यसमा जिप तथा बस जान सक्दैनन् । हामी जान्छौं ।’ यात्रुले जति बेला फोन गरेर बोलाए पनि सेवा दिन तयार रहेको उनले बताए ।
अर्घाखाँची ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष महेन्द्र भुसालका अनुसार चार वर्षअघि सन्धिखर्कमा एउटा ट्याक्सी भित्रियो । त्यसपछि पाँचवटा थपिए । देउराली यातायात व्यावसायी समिति र पश्चिमाञ्चल बस व्यावसायी समितिले अवरोध गरे । केही समय यत्तिकै थन्किए । जिल्ला प्रशासनले दर्ता गर्नै मानेन ।
नेपाल राष्ट्रिय यातायात महासंघले पनि रुट परमिट दिएन । ‘लामो संघर्षपछि कम्पनीमा दर्ता गर्‍यौं,’ उनले भने, ‘अहिले एक सय ९ बटा ट्याक्सी छन् ।’ जिल्लाका सबै बाटोमा यात्रु लिएर जाने उनले बताए । ट्याक्सीमा छिटो छरिटो हुने भएकाले धेरै जना नअटे पनि माग बढी छ ।