प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची , (अर्घाखाँची डट्कम) गएराति नरभक्षी चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चार वर्षीया बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको छ ।
अर्घाखाँचीका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएपछि चितुवा मार्न सशस्त्र प्रहरी र नेपाल प्रहरी साथै वनका सुरक्षकर्मीसहित ४५ जनाको टोली चितुवा मार्न खटाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको घरमा गई परिवारलाइ समवेदना पक्रट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीयको माग अनुसार चितुवा मार्न घटनास्थलबाटै सुरक्षाकर्मी परिचालन गरेका हुन् । नरभक्षी चितुवा मार्न हतियारसहितको विशेष सुरक्षा टोली परिचालन गरिएको हो ।
चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर घम, जिल्ला वन कार्यलयका प्रमुख अजय विक्रम मानन्धरसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तसँग भेटघाट गरेका थिए । टोलीले समवेदना व्यक्त गर्दै आफूहरु चितुवा मार्न लागि पर्ने प्रतिबद्धता जाहेर पनि गरेका हुन् ।
अर्घाखाँचीमा चितुवा आक्रमण र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ४ वर्षदेखि बारम्बार जीउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् ।
नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा दुइ दर्जन बालबालिकामाथि आक्रमण गरेको छ । चितुवाको आक्रमणमा १८ जनाको ज्यान गएको छ भने ६ जना घाइतेको उपचार भएको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीयबासिन्दा त्रसित भएका छन् ।