अर्घाखाँचीका युवाद्धारा नरभक्षी चितुवा नियन्त्रण गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

प्रेम खड्का 
काठमाडौं । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चार वर्षीया बालकको नरभक्षी चितुवाको आक्रमणबाट ज्यान गएपछि सम्बन्धित निकाय मौन रहेको भन्दै काठमाडौंमा बस्दै आएका जिल्लाका युवाहरुले आईतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका छन् ।
युवाहरुले चितुवाको आक्रमणमा १८ जनाको ज्यान गएको र ६ जना घाइते हुँदा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन शिवदेव पाण्डे, ठाकुर पन्थी, प्रकाशचन्द्र भट्टराई, खिमप्रसाद घिमिरे, सचिन पाण्डे, टेकराज बेल्बासे, मधु पाण्डे लगायतका युवा गएका थिए । 
युवाहरुले गृहमन्त्रीलाई दीर्घकालीन समाधान र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुका साथै घाईतेहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 
उता अस्ती नरभक्षी चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९, ढिकुरामा चार वर्षीया बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको छ ।
अर्घाखाँचीका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएपछि चितुवा मार्न सशस्त्र प्रहरी र नेपाल प्रहरी साथै वनका सुरक्षकर्मीसहित ४५ जनाको टोली चितुवा मार्न खटाइएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको घरमा गई परिवारलाइ समवेदना पक्रट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीयको माग अनुसार चितुवा मार्न घटनास्थलबाटै सुरक्षाकर्मी परिचालन गरेका हुन् । नरभक्षी चितुवा मार्न हतियारसहितको विशेष सुरक्षा टोली परिचालन गरिएको हो ।
चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर घम, जिल्ला वन कार्यलयका प्रमुख अजय विक्रम मानन्धरसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तसँग भेटघाट गरेका थिए । टोलीले समवेदना व्यक्त गर्दै आफूहरु चितुवा मार्न लागि पर्ने प्रतिबद्धता जाहेर पनि गरेका हुन् ।
अर्घाखाँचीमा चितुवा आक्रमण र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।
चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ४ वर्षदेखि बारम्बार जीउधनको रक्षाको लागि आग्रह गरिरहेका छन् ।
नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा दुइ दर्जन बालबालिकामाथि आक्रमण गरेको छ । चितुवाको आक्रमणमा १८ जनाको ज्यान गएको छ भने ६ जना घाइतेको उपचार भएको छ । चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीयबासिन्दा त्रसित भएका छन् ।