पाकिस्तानको कराँची सहरस्थित चिनियाँ महावाणिज्य दूतावासमा आतंकवादी हमलाको प्रयासलाई सुरक्षाकर्मीको टोलीले विफल तुल्याएको छ ।
शुक्रबार महावाणिज्य दूतावास परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका लडाकु र सुरक्षाकर्मीबीच केहीबेर भिडन्तसमेत भएको थियो । घटनामा दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।
सुरक्षा कारवाहीमा हमलाकारीसमेत मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार एक प्रहरी घाइते भएका छन् ।
घटनामा चिनियाँ महावाणिज्य दूतावासका कर्मचारी तथा कुटनीतिज्ञ सुरक्षित रहेको जनाइएको छ ।
बिहानै महावाणिज्य दूतावास अगाडी विस्फोट भएको थियो । स्थानीय संचारमाध्यमका अनुसार विस्फोट लगत्तै हतियारधारीहरु महावाणिज्य दूतावासभित्र प्रवेश गर्न खोजेका थिए । महावाणिज्य दूतावास सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीको टोलीले उनीहरुमाथि जवाफी हमला गरेको थियो ।
पृथकतावादी संगठन बलोच लिबरेशन आर्मीले सो हमलाको जिम्मेवारी लिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उक्त संगठनका प्रवक्ताले स्थानीय संचारमाध्यमलाई फोनबाट हमलाको जिम्मेवारीबारे जानकारी गराएको बताइएको छ । (एजेन्सी)