सन्धिखर्कमा बिशेष नापी द्वारा श्रेस्ता हस्तान्तरण

अर्जुन भुसाल
 सन्धिखर्क, अर्घाखाँची मंसिर ९  । विशेष नापी कार्यालयले सन्धिखर्क वडा नं. १ का जग्गा नापजाँचका श्रेस्ताहरु मालपोत र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ ।
 आज एक कार्यक्रमका बीच विशेष नापी कार्यालयका प्रमुख खिमबहादुर रानाले मालपोत कार्यालयका प्रमुख रुकेन्द्र पालुङ्गे र नापी कार्यालयका प्रमुख सरिता अधिकारीलाई श्रेस्ता हस्तान्तरण गर्नुभएको हो । सन्धिखर्क १ मा विशेष नापी कार्यालयले नाँप जाँचको काम सम्पन्न गरेको छ ।
 यो वडामा ७४ प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख रानाले जानकारी दिनुभयो ।
जिल्लामा सबै भन्दा धेरै समस्या रहेको सन्धिखर्क १ मा काम सकेसँगै अव जिल्लाका अन्य ठाउँमा काम गर्न सजिलो हुने उहाँले बताउनुभयो । सन्धिखर्कमा १ मा केहि जिल्ला बाहिर रहेकाका हरुको जग्गा दर्ता गर्न छुट रहेको र केहिले अटेर गरेर दर्ता नगरेको कार्यालयका सहायक प्रमुख कविसिंह कठायतले बताउनु भयो । उहाँले जग्गा दर्ता गर्न छुटेकाहरुले अब जिल्ला नापी र मालपोत कार्यालयबाट नापजाँचको काम गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै सन्धिखर्क १ का वडा अध्यक्ष युवराज वञ्जाडेले विशेष नापी कार्यालका कर्मचारीहरुले निकै मेहनतका साथ जग्गाको नाप जाँच गरेको बताउनुभयो । उहाँले आफ्नो वडामा जग्गा नाप जाँच गर्नबाट छुटेकाहरुलाई पनि सहज माध्यमबाट नापजाँचको व्यवस्था मिलाइने बताउनुभयो । विगत द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सन्धिखर्क आक्रमण गर्दा नापी र मालपोत कार्यालयमा रहेका सम्पूर्ण नक्साहरु जलेर नष्ट भएका थिए । 
नक्सा जलेपछि करिव १६ वर्षदेखि जिल्ला नक्सा विहिनको अवस्थामा थियो। २०६९ साल देखि जिल्लामा विशेष नापी कार्यालय स्थापना गरि पुन :नाप जाँचको काम भइरहेको छ । सदरमुकाम सन्धिखर्कमा नक्सा नभएको मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको होडवाजी नै चलेको थियो । 
विशेष नापी कार्यालयले सन्धिखर्कमा डिजिटल प्रविधिबाट नापजाँच गरेपछि सार्वजनिक जग्गाको एकिन विवरण तयार भएको छ । 
नक्सा नभएको मौका छोपेर सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरु अहिले अताल्लिएका छन्। 
कार्यक्रममा सन्धिखर्क १२ का वडाअध्यक्ष नारायण खडका, निमित्त नापी इकाइ प्रमुख धर्मराज अधिकारी, पत्रकार अर्जुन भुसाल लगायतको उपस्थिति रहेको थियो ।