सोमालियामा सेनाको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु

news
अमेरिकी सेनाले सोमालियामा गरेको कारबाहीमा कम्तिमा ६२ जना लडाकूको मृत्यु भएको छ ।
राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा अल–शबाबका लडाकुको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।
अमेरिकी सेनाले शनिबार गरिएको चार वटा हवाई हमलामा ३२ जना र आइतबार गरिएका दुई वटा हवाई हमलामा २८ जना लडाकूको मृत्यु भएको जनाएको छ ।
अमेरिकी सेनाले हमलामा सर्वसाधारण भने कोही पनि नपरेको दाबी गरेको छ ।
अमेरिकाले सन् २०१७ को नोभेम्बरदेखि सोमालियाका लडाकूविरुद्ध कारबाही चलाउँदै आएको छ ।
अहिलेसम्म कम्तिमा १ सय जना लडाकू मारिएको अमेरिकी सेनाले जनाएको छ ।
तर, ब्यूरो अफ इन्भेस्टिकेसन जर्नालिजमको तथ्यांक अनुसार सन् २०१७ को सुरुदेखि हुन थालेको हमलामा कम्तिमा ४ सय मानिस मारिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा अमेरिकी सेनालाई सोमालियाका चरमपन्थीविरुद्ध आक्रमण गर्न आदेश दिएका थिए ।
सन् १९९३ मा मोगादिसुमा चरमपन्थीसँगको भिडन्तमा १८ जना अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका र सोमालियाबीच संयुक्त सैन्य कारबाही सुरु भएको थियो ।(एजेन्सी)