अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द

news
अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द भएको अवधिले योपटक नयाँ रेकर्ड कायम गरेको छ ।
सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो । योपटक शनिबार २२ दिन पुगेको छ ।
तर, राजनीतिक अडानका कारण सहमति जुट्ने सम्भावना अझै देखिएको छैन ।
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन रकम नछुट्याएसम्म बजेट स्वीकृत नगर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अडान छ । डेमोक्र्याट्सले ५.७ बिलियन डलरको माग अस्वीकार गरेका छन् ।
यो अन्योलका कारण एक चौथाइ संघीय सरकार मातहतका कार्यालय बन्द छन् । ८ लाख कर्मचारीले तलब पाएका छैनन् ।
यसैबीच, राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपत्काल घोषणा गरी आवश्यक रकम जुटाउने सम्भावनाको सम्बन्धमा कंग्रेसले नै समस्याको समाधान गर्नु उपयुक्त विकल्प हुने बताएका छन् । (एजेन्सी)