राष्ट्रियसभा बैठक माघ १४ सम्मका लागि स्थगित

news
राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सन्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो बैठकमासमेत अवरोध जारी राखेको हो ।
दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई आसनग्रहण गर्न पटक–पटक आग्रह गरे ।
अध्यक्षको आग्रहलाई कांग्रेसका सांसदले अस्वीकार गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक यही माघ १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरे । रासस