वर्षासँगै तेह्रथुम र संखुवासभाका डाँडाकाँडामा बुधबार मध्याह्नबाट हिमपात भइरहेको छ ।
तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन् ।
यो क्षेत्रमा सिजनमै बाक्लो हिमपात भएको छ । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको हो ।
टीएमजे क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ ।
बुधबार मध्याह्नबाट निरन्तर हिमपात भइरहेको र अहिलेसम्म तीन फिटसम्म हिमपात भएको पर्यटन सूचना केन्द्र गुफाबजारका सचिव सन्तोष लिम्बूले बताए ।
हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिरसमेत निस्कन सकेका छैनन् ।
वर्षा र हिमपात एकसाथ भएका कारण ह्वात्तै चिसो बढेको ओयाक्जुङका स्थानीय दीपक थाम्देनले बताए ।
चिसोका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कस्टकर बनेको छ । इमेजखबरमा समाचार छ ।