काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर भौतिक संरचनाहरु निर्माण गरेको भन्दै विरोध प्रदर्शन

news
 नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर भौतिक संरचनाहरु निर्माण गरेको भन्दै विरोध प्रदर्शन गरेको छ ।
मोर्चाले शुक्रबार काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेको हो ।
मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले महानगरपालिकाअन्तर्गत् रहेका सार्वजनिक जग्गामा विभिन्न कम्प्लेक्स, हाउजिङ, अपार्टमेन्टलगायतका नाममा गरिएको अतिक्रमणविरुद्ध आन्दोलनमा उत्रिएको बताए ।
मोर्चाले काठमाडौं, ठमेलस्थित सार्वजनिक पोखरी मासेर ‘छाया सेन्टर’ बनाइएको भन्दै तत्काल रोक्न पनि माग गरेको छ ।
सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन पटक–पटक आवाज उठाउँदा पनि सरोकारवाला निकायले नसुनेपछि आन्दोलनमा उत्रिनपरेको मोर्चाको भनाइ छ ।
विकासको नाममा ‘फास्ट ट्रयाक’, बाहिरी चक्रपथ निर्माण र गैरन्यायिकरुपले सडक विस्तार भइरहेको भन्दै मोर्चाले सार्वजनिक हीतविपरीतका कामको विरोध गर्ने जनाएको छ । इमेजखबरमा समाचार छ ।