अमेरिका र अफगानिस्तानका तालिवान विद्रोहीबीचको वार्ता सकारात्मक

news
अमेरिका र अफगानिस्तानको तालिवान विद्रोहीबीच भएको शान्ति वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ ।
अफगानिस्तानमा १७ वर्षदेखिको संघर्ष अन्त्य गर्ने विषयमा वार्तामा महत्वपूर्ण प्रगति भएको अमेरिकाले जनाएको छ ।
अमेरिकी प्रतिनिधि जलमय खलिलजादले यस पटकको वार्तापछि संघर्ष अन्त्य हुने सम्भावना रहेको बताए ।
उनले वार्तामा भएका विषयहरुबारे सबै जानकारी नदिए पनि वार्ता सकारात्मक दिशातर्फ अघि बढेको बताए ।
कतारमा भएको ६ दिने वार्तामा यसअघि कहिल्यै नभएको प्रगति भएको उनको भनाइ थियो ।
वार्ता सकारात्मक भएकाले अफगानिस्तानको शान्ति प्रक्रिया चाँडै पूरा हुने विश्वास अमेरिकी प्रतिनिधिले व्यक्त गरेका छन् ।
वार्तामा अफगानिस्तानबाट विदेशी सेना फिर्ता गर्ने, अलकायदा र इस्लामिक स्टेट समूहको अखडा अफगानिस्तानमा बनाउन नदिने सहमति भएको स्रोतहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर अमेरिकी प्रतिनिधि खलिलजादले भने तालिवानसँग वार्ता जारी रहने र अहिलेसम्म कुनै पनि विषयमा निर्णय भने भइ नसकेको बताए ।
अफगानी अधिकारीहरुसँग सिधै वार्ता गर्न अस्वीकार गर्दै आएको तालीवानी बिद्रोहीले अमेरिकी अधिकारीहरुसँग भने वार्ता गरेको हो ।
अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक फिर्ता हुने समय तय गरेको खण्डमा मात्रै तालीवानी बिद्रोहीले अफगान सरकारसँग वार्ता गर्ने निर्णय गरेको तालीवानी नेताहरुले बताएका छन् ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भने तालिवानी समूह युद्धविराम गरेर देशको संविधानलाई मान्यता दिन तयार भए उसलाई राजनीतिक दलको मान्यता दिने बताउँदै आएका छन् । (एजेन्सी)