हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति बिहीबार टुँडिखेलमा गर्ने भनिएको श्रद्धाञ्जलि कार्यक्रम शुक्रबारका लागि सारिएको छ ।
पोस्टमार्टमका लागि समय लाग्ने भएपछि शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि उनको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको हो ।
यसअघि, बिहीबारै मृतकका शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने कार्यक्रम तय गरिएको थियो ।
बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीसहित सातैजनाको शवको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ ।
मन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ ।
अधिकारीको शव शुक्रबार बिहान टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जलि दिएपछि पोखरा लगिने जनाइएको छ ।
मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदको बुधबारको बैठकले गरिसकेको छ ।
हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो । इमेजखबरमा समाचार छ ।