केही समययता गाउँवस्तीबाट युवाहरु रित्तिँदै गएका छन ।
रोजगारीको सिलसिलामा कोही शहरबजारतिर छन् त कोही विदेश पसेका छन् । जसका कारण गाउँबस्तीहरु सुनसानजस्तै बन्न थालेका छन् ।
बाग्लुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मगाउँमा युवाहरु वैदेशिक रोजगारमा गएकाले गाउँमा केटाकेटी, वृद्धवृद्धा र महिलाहरु मात्र रहेका छन् ।
घरायसी कामकाजमा खासै समस्या नभएपनि जटिल र गह्रौ काममा समेत महिला नै होमिनुपर्ने बाध्यता रहेको छ ।
कृषिप्रधान मुलुक भनिएपनि काम गर्ने मानिस नहुँदा जग्गाहरु बाझै पल्टेका छन् सबैथोक किनेरै खानुपर्ने अवस्था छ ।
गाउँमा मर्दापर्दा कोही बिरामी हुँदा महिलाहरु नै अगाडि सर्नुपर्छ ।
धार्मिक परम्पराअनुसार शव बोक्नुपर्ने पुरुषले मान्यता रहेपनि गाउँमा पुरुष नहुँदा महिलाले नै गर्ने गरेका छन् ।
यस ठाउँका अधिकांश युवाहरु अष्ट्रेलिया, स्पेन, जापानसंगै खाडी मुलुकमा काम गर्न गएका छन् ।
गाउँ पुरुषविहीन भएपछि भारी र गह्रौ काम पनि सकिनसकि महिलाले गर्नुपर्ने बाध्यता छ ।
नजिकै अस्पताल नभएकाले कहिलेकाहीँ अपर्झट बिरामीलाई बोक्नुपर्दा निकै असहज हुने गरेको छ ।
गाउँका विवाह ब्रतबन्ध तथा अन्य कार्यक्रममा जाँदा युवालाई मुस्किलले देख्न सकिन्छ ।
कतिपयका छोराबुहारी सबै विदेशमा भएकाले घरमा बृद्धबृद्धाको स्याहारसुसार गर्ने कोही छैनन् ।
यसका साथै गाउँमा भइरहेका राजनीतिक गतिविधि र विकासका क्रियाकलापमा निगरानी गर्ने र बेथितिका विरुद्धमा आवाज उठाउन सक्नेहरुको अभाव खट्किरहेको छ ।
यहाँजस्तै अन्य ग्रामीण वस्तीमा अवसर र सेवासुविधा न्यून भएकाले शहरबजार र सुविधायुक्त क्षेत्रमा असन्तुलित रुपमा मानिस थुप्रिरहेका छन् ।
धमाधम विकासका काम अघि बढाएर गाउँगाउँमा सेवासुविधा र अवसर सिर्जना गर्न सके युवाजनशक्तिको विकर्षण घट्ने थियो । इमेजखबरमा समाचार छ ।