चन्दा उठाउनु आफ्नो नौसर्गिक अधिकार भएको नेत्रविक्रम चन्द विप्लवको तर्क

news
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चन्दा उठाउनु आफ्नो नौसर्गिक अधिकार भएको तर्क गरेका छन् । 
नेकपाका महासचिव चन्दले एक विज्ञप्ति निकाली आफूहरूले कुनै विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली नगरेको तर्क गर्दै आफ्नै बलबुतामा क्रान्ति अगाडी बढाउन चन्दा उठाएको र यसरी चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको जिकिर गरेका हुन् । 
सरकारले भने विप्लव समूहको गतिविधि आपराधिक रहेको ठहर गर्दै फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकमार्फत् प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 
‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो,’ विप्लवले भनेका छन् ।
उनले ‘आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ’ भनेका छन् । 
सरकारले दमन गरे उपयुक्त जवाफ फर्काउने चेतावनी दिँदै विज्ञप्तिमा विप्लवले ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन गर्‍यो भने त्यसको मुखतोड जवाफ दिइनेछ’, भनिएको छ । आफ्नो पार्टीले चुनाव बहिष्कार गरेयता सरकारले आफ्नो पार्टी र कार्यकतालाई दमन गरिरहेको भन्दै उनले राज्य दमनका क्रममा आफ्ना तीन कार्यकर्ताको हत्या भएको र दर्जनभन्दा बढी घाइते भएको जनाएका छन् । इमेजखबरमा समाचार छ ।