प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ९ जना नेता–कार्यकर्ता काभ्रेपलाञ्चोकबाट पक्राउ

news
प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मध्य कमान्ड इन्चार्ज ‘सुदर्शन’ भनिने हेमन्तप्रकाश वलीसहित ९ जना नेता–कार्यकर्तालाई शनिबार बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ ।
प्रहरी स्रोतले वलीले गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराउँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएको घटनाको जिम्मा लिएको बताएको छ ।
खानीखोला गाउँपालिका–७, मिल्चेस्थित बोरेनीनजिकै काभ्रेपलाञ्चोक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नम्बरको स्कारपियो गाडीमा वलीसहितका नेता–कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल स्रोतले जनाएको छ ।
उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च/अप्रेसन’काक्रममा पक्राउ गरेको हो ।
प्रहरी स्रोतकाअनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौं जाँदै थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शंकर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् ।
काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२, खहरेपाँगुस्थित काफलडाँडामा गत मंगलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले ‘विप्लव’ नेकपाका कार्यकर्ता झापाको मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६, नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेसनकाक्रममा वली भाग्न सफल भएका थिए ।
सरकारले गत फागुन ३० गतेदेखि विप्लव समूहका ध्वंसात्मक गतिविधिलाई नियन्त्रण गर्नेक्रममा ओलीलगायतका नेता–कार्यकर्ता नियन्त्रणमा लिइएका हुन् । रासस