भेनेजुएलाका विपक्षी नेतामाथि १५ वर्षका लागि प्रतिबन्ध, सार्वजनिक पद धारण गर्न नपाउने

news
भेनेजुएला सरकारले विपक्षी नेता हुवाँ गुएदोमाथि प्रतिबन्ध लगाएको छ । सरकारका वित्त नियन्त्रक एल्भिस अम्रसोले स्वघोषित राष्ट्रपति गुएदोमाथि वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणमा कसुर देखाउँदै १५ वर्षका लागि कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
गुएदो हाल विपक्षीहरुको नियन्त्रणमा रहेको राष्ट्रिय परिषद्का प्रमुख छन् । सरकारी प्रतिबन्ध लागु भए उनी आगामी १५ वर्षसम्म कुनै पनि सार्वजनिक पदमा नियुक्ति लिन र चुनावमा उठ्न पाउने छैनन् । भेनेजुएलाको संविधानले आर्थिक अपचलन र सम्पत्ति शुद्धिकरण मुद्दामा अधिकतम १५ वर्षसम्म प्रतिबन्ध लगाउन सक्ने प्रावधान राखेको छ ।
राष्ट्रपति निकोलस मादुरोको प्रशासनले अहिले यही प्रावधानमाथि टेकेर आफ्नो राजनीतिक प्रतिस्पर्धीहरुलाई निशाना बनाउँदै आएको छ । नेता गुएदोले भने आफुमाथि प्रतिबन्ध लगाउने सरकारी कदम नै गैरकानुनी भएको टिप्पणी गरेका छन् ।
छानविन र कारवाही गर्ने निकायको आधिकारिकतामाथि उनले विमति राखेका हुन् । 
भेनेजुएलामा गत जनवरीमा गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि संकट चुलिएको छ । गुएदो र राष्ट्रपति मादुरोका समर्थकहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन् । गुएदोलाई अमेरिका, ल्याटिन अमेरिका र युरोपका झण्डै ५० देशले समर्थन गरिसकेका छन् । चीन, रुसलगायतका शक्ति राष्ट्रहरु भने राष्ट्रपति मादुरोकै पक्षमा छन् । (एजेन्सी)