देशभर बदली भइ वर्षा, अझै केही दिन हल्कादेखि मध्यमखालको वर्षा भइराख्ने

news
काठमाडौं उपत्यकासहित देशभर शनिबार बदली भइ वर्षा भएको छ ।
स्थानीय न्यूनचापीय वायु र पश्चिमी वायुको प्रभावका कारण नेपालमा वर्षा भएको हो ।
कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ । योक्रम तीन दिनसम्म लम्बिनसक्ने मौसमविद्हरुले बताएका छन् ।
गत साता बारा र पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति भएपछि त्यसको त्रास कायमै रहेका बेला शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सामान्य हावाहुरी र मेघगर्जनसहित पानी पर्‍यो ।
एक्कासि मौसम बिग्रिएर बिहानै अँध्यारो भएपछि कतिपय मानिस त्रसितसमेत भए । मेघगर्जनसहित छिनछिनमा पानी पर्ने र रोकिनेक्रम दिनभरजसो नै चल्यो ।
स्थानीय र पश्चिमी वायु सक्रिय भएका कारण हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् विभूति पोखरेलले काठमाडौंको मौसममा केही सुधार भएपनि अझै केही दिन हल्कादेखि मध्यमखालको वर्षा भइराख्ने जानकारी दिइन् ।
उनले सतहमा पूर्वी वायु र माथिल्लो वायुमन्डलमा पश्चिमी वायु चलेकाले देशका अधिकांश भागमा वर्षा हुनसक्ने जानकारी दिइन् ।
उनले आउँदो सोमबारसम्म देशका अधिकांश स्थानको मौसम यसैगरी प्रभावित भइरहने बताइन् ।
पूर्वमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले हावाहुरी र मध्यम वर्षा भएको मौसमविद्हरुको भनाइ छ ।
मार्च महिनाबाट प्रि–मनसुन सुरु हुने भएकाले पनि अहिले काठमाडौं उपत्यकालगायत देशभर नै बदली भइ पानी परेको मौसमविद् पोखरेल बताउँछिन् ।
विशेषगरी पूर्वी तथा मध्य तराईमा अझै केही दिन हावाहुरीसहितको वर्षा हुने भएकाले सचेत रहनसमेत महाशाखाले सुझाव दिएको छ ।
पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त यो वायु नेपालमा अझै केही दिन रहनसक्ने छ । इमेजखबरमा समाचार छ ।