पश्चिमी वायुको प्रभाव निरन्तर कायमै, हावाहुरी र मेघ गर्जनसहित वर्षा

news
यस वर्ष पश्चिमी वायुको प्रभाव लगातार रहँदा नेपालमा औसतभन्दा निकै पानी परिसकेको छ । प्रि–मनसुनको समय भैसक्दा पनि पश्चिमी वायुको प्रभाव निरन्तर कायमै रहेको छ ।
यहीबीचमा पूर्वी र पश्चिमी वायुको द्वन्द्वमा परेर बारा–पर्साका केही गाउँ चक्रवातको चपेटमा परेको छ । त्यहाँका केही गाउँमा चक्रवातका कारण २८ जनाको मृत्यु भैसकेको छ । घाइतेको उपचार जारी छ । गाउँका गाउँ चक्रवातमा परेर ध्वस्त भएको छ ।
देशका विभिन्न स्थानमा परेको चट्टयाङ लागेर अरु केहीको मृत्यु भएको छ ।
यस्तोमा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम बदली हुने, मेघ गर्जने, हावाहुरी चल्ने र पानी पर्ने जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आगामी दिन मौसमको अवस्था यस्तो रहनेछ । 
चैत्र २४  गते (आइतबार)
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी  भू–भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ ।
राति  देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमी भू–भागका १/२ स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ । तराईका केहि स्थानमा हुरी बतास चल्ने संभावना छ ।
चैत्र २५ गते (सोमबार)
दिउँसोः देशभरि नै आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भू–भागका थोरै स्थानमा र मध्य तथा पश्चिमका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको संभावना देखिन्छ ।
राति  देशका पूर्वी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ । तराईका केहि स्थानमा हरी बतास चल्ने संभावना छ ।
चैत्र २५ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भू–भागमा  आंशिक बदली रहनेछ । देशको पूर्वी भू–भागका थोरै स्थान र मध्य तथा पश्चिमका १/२ स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ । पूर्वी तराईका केही स्थानमा हुरी बतास चल्ने संभावना छ ।
राति  देशका पूर्वी  भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ । पूर्वी तथा मध्य तराईका केही स्थानमा हरी बतास चल्ने संभावना छ । रासस