सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ

news
सुडानको अन्तरिम सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ ।
सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो ।
सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्नेसमेत स्पष्ट पारेको छ ।
लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो ।
सेनाको कदमप्रति असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु भइरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।
यसैबीच सेनाका प्रवक्ता मेजर जनरल शाम्स अद–दिन सान्तोले पत्रकार सम्मेलन गरी नागरिक सत्ता स्थापनाका लागि सेना तयार रहेको बताए ।
उनले नागरिक सरकारका लागि सबै प्रदर्शनकारी र विपक्षीहरु एक हुनुपर्ने बताए । सबैको सहमति नभए नागरिक प्रधानमन्त्री घोषणा गर्न नसकिने उनको भनाइ थियो ।
उनले प्रदर्शनकारीमाथि बल प्रयोग गर्न सेनाले नचाहेको भन्दै प्रदर्शनकारीहरुलाई शान्ति कायम गर्न आह्वान गरे ।
सैन्य परिषद्ले सेना र प्रहरीमा नयाँ प्रमुख नियुक्त गर्ने, राष्ट्रिय गुप्चतर र सुरक्षा निकायमा नयाँ प्रमुख बनाउने, भ्रष्टाचार नियन्त्रणबारे छानबिन गर्न समिति गठन गर्ने घोषणासमेत गरेको छ । उसले पक्राउ परेकाहरुलाई रिहा गर्नेसमेत जनाएको छ । (एजेन्सी)