विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माण धमाधम हुँदै

news
पुरातात्विक र सांस्कृतिक सम्पदाले धनी भक्तपुर र ललितपुरमा पनि वैशाख १२ गतेको विनाशकारी ‘गोरखा भूकम्प’ले ठूलो क्षति पुर्‍याएको थियो ।
क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत र अन्य महत्वपूर्ण सम्पदालाई पुरानै स्वरुप दिन पुनःनिर्माणको काम अहिले भइरहेको छ ।
भूकम्प अतिप्रभावित जिल्लामध्येका भक्तपुर र ललितपुरमा निजी आवासका साथै पुरातात्विक तथा सांस्कृतिक सम्पदामा पनि ठूलो क्षति पुगेको थियो ।
गएको चार वर्षको अवधिमा पुरातात्विक संरचनाको पुनःनिर्माण धमाधम चलिरहेको छ ।
भक्तपुरमा ७३ ओटा पुरातात्विक र सांस्कृतिक सम्पदाहरुमा क्षति पुगेको थियो । जसमध्ये २८ ओटा सम्पदाको पुनःनिर्माण सकिएकोे छ ।
जसमध्ये चाँगुनारायण मन्दिर र भक्तपुर दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले पुरानै स्वरुपमा पुनःनिर्माण गर्नुपर्ने स्थिति छ ।
कंक्रिटजन्य सामग्रीको प्रयोगबिना नै मल्लकालीन सम्पदाको पुनःनिर्माण गर्नुपर्ने भएकाले केही ढिलाइ देखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाउँदै आएको छ ।
भक्तपुरका विभिन्न सम्पदाको पुनःनिर्माणको काम धमाधम भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख मोहनसिंह लामाको भनाइ छ ।
यसैगरी, ललितपुरका महत्वपूर्ण सम्पदामध्ये बहुचर्चित मंगलबजारस्थित पाटन दरबार क्षेत्रका १९ ओटा देव–देवालयका साथै दरबारमासमेत क्षति पुगेको थियो ।
पाटन दरबार क्षेत्रको हालसम्ममा करिब ६० प्रतिशत पुनःनिर्माण सम्पन्न भइसकेको छ ।
पुरातात्विक महत्वका सम्पदा जस्ताको त्यस्तै पुनःनिर्माण गर्न स्थानीय कालिगढ तथा निर्माण सामग्री नै प्रयोग गरिएको छ ।
सम्पदा क्षेत्रहरु स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा पुनःनिर्माण भइरहेका छन् । आगामी दुई वर्षमा सबै क्षतिग्रस्त सम्पदाको पुनःनिर्माण सम्पन्न हुने सरकारको भनाइ छ ।
अर्कोतिर सरकारले किस्ताबन्दीमा रकम उपलब्ध गराएपनि निजी आवास निर्माणको कामले भने अझै गति लिन सकेको छैन ।
भक्तपुर र मध्यपुरथिमि नगरभित्र कम क्षेत्रफल रहेका जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवासमा ढिलाइ देखिएको हो । इमेजखबरमा समाचार छ ।