सर्वोच्चद्वारा नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश

news
सर्वोच्च अदालतले नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको हो ।
देवको नेतृत्वले गैरकानुनी रुपमा नागरिकता वितरण गरेकाले रद्द गर्नु भन्ने फैसला कार्यान्वयन नभएकाले तत्काल वितरणमा रोक लगाउने राणा र भण्डारीको इजलाशले आदेश दिएको हो । तत्कालीन आयोगको सिफारिसमा ३४ हजार ९० जनालाई नागरिकता दिइएको थियो ।
उक्त समयको नागरिकता वितरणविरुद्ध अधिवक्ता बालकृष्ण न्यौपानेले हालेको मुद्दामा सर्वोच्चले नागरिकता वितरण गैरकानुनी भन्दै रद्द गर्न र त्यसको विवरण पेस गर्न आदेश दिएपनि अदालतलाई अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।
नागरिकता खारेज नहुँदै गृह मन्त्रालयले फेरि एक परिपत्र जारी गरी वंशजको नागरिकता वितरण गर्नु गैरकानुनी भएको रिटमा दाबी गरिएको थियो ।
तर एक साताअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशले भने गृहको सर्कुलरअनुसार नागरिकता वितरण नरोक्नू भनेको थियो । त्यही आदेशलाई टेकेर देशभरका जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गरिरहेका छन् ।
तर, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसमेतले दिएको अर्को रिटको सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको किनाारा नलागेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै आफ्नै अघिल्लो आदेश निष्क्रिय पारेको हो । प्रधानन्यायाधीश राणा र न्यायाधीश भण्डारीले दिएको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।
२०५४ सालमा गठित सो आयोगले गरेको सिफारिसमा नागरिकता दिइएपनि आयोग भने असंवैधानिक भएको सर्वोच्च अदालतले २०५८ मा नै फैसला गरेको थियो ।
आयोग असंवैधानिक ठहर हुँदा पनि त्यतिबेला वितरण गरिएको नागरिकता अझै रद्द नगरिएको भन्दै दोस्रो मुद्दा सर्वोच्चमा दायर गरिएको थियो ।
गत चैत १९ गते गृहमन्त्रालयले परिपत्र गरेर नागरिकतासम्बन्धी कानून बनाउन संसदमा ढिलो भएको हुनाले अंगीकृत नागरिकलाई यही परिपत्रका आधारमा वंशजको नागरिकता प्रदान गर्नू भनेको थियो ।
तर संविधानविदहरुले गृहको परिपत्रका आधारमा नागरिकता वितरण गर्नु संविधान र कानुनविपरित हुने तर्क गर्दै आएका थिए । 
२०५४ साल र ०५८ सालताका गैरकानूनी आधारमा नागरिकता वितरण गरिएका सन्तानलाई नै अहिले वंशजको नागरिकता दिन लागिएको भन्दै त्यसलाई रोक्ने आदेश माग्र्दै कार्कीसहितले अदालतमा रिट दिएका थिए ।
कार्कीको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार विपक्षीसमेतलाई झिकाएको थियो । इमेजखबरमा समाचार छ ।