भारतबाट अवैध सामग्री भित्रिने क्रम बढ्दै गएपछि कञ्चनपुरको सीमानाकाको चेकजाँचमा कडाई

news
भारतबाट अवैध सामग्री भित्रिने क्रम बढ्दै गएपछि कञ्चनपुरको सीमानाकाको चेकजाँचमा कडाई गरिएको छ । गड््डाचौकीलगायतका नाकाबाट विस्फोटक पदार्थसहित अवैध सामानहरु भित्रिन थालेपछि प्रहरी र भन्सार कार्यालय चेकजाँचमा चनाखो बनेको हो ।
केही दिनअघि कैलालीमा भारतको नयाँ दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद भयो । गड्डाचौकी नाका हुँदै भित्रिएको ना ५ख ७२४५ नम्बरको बसलाई कैलालीस्थित सशस्त्र प्रहरी बल बेस क्याम्प डुँडेझारीले वैशाख ६ गते राति शंका लागेर चेकजाँच गर्दा सो सामान बरामद भएको हो ।
उक्त घटनापछि सीमानाकामा उच्च सुरक्षा सर्तकता अपनाइएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नासु भैरवदत्त अवस्थीले बताए ।
नेपाल–भारत चल्ने मैत्री बसबाट एकातर्फ यात्रुलाई सहज भएको छ भने अर्कोतर्फ मानव बेचविखन तथा अवैध सामान ओसारपसारमा समेत पछिल्लो समय तिनै बसको प्रयोग बढी हुन थालेको छ ।
कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक ८ देखि १० वटा बस भित्रिने गरेको भन्सार कार्यालले जनाएको छ । जसमध्ये दुईवटा बस महेन्द्रनगर–देहरादुन चल्छन् भने चारवटा महेन्द्रनगर–दिल्ली रुटका छन् ।
यस्तै, बुटवल, काठमाडौं र पोखराबाट समेत गड्डाचौकी नाका हुँदै बसहरु दिल्ली जाने गर्दछन् । सीमानाकामा हुने चेकजाँचले अवैध सामान भित्रिन रोकिने र आफूहरुलाई पनि सुरक्षित अनुभूति हुने यात्रु बताउँछन् । तर, चेकजाँच गर्दा समयलाई मध्यनजर गर्दै छिटो गर्न सके आफूहरुलाई समेत सहज हुने उनीहको भनाइ छ ।
आधुनिक उपकरण नहुँदा परम्परागत तरिकाले चेकजाँच गर्नुपर्ने बाध्यता छ । जसले गर्दा चेकजाँचका लागि हातले नै झोलाहरु खोल्नुपर्ने भएकाले समय बढी लाग्नुका साथै यात्रुहरुलाई समेत असुविधा भएको छ । इमेजखबरमा समाचार छ ।