प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले उठाएका प्रश्न र जिज्ञासालाई ‘आक्रोश, कुन्ठा र निम्छरो’ भनेपछि कांग्रेस सांसद मीन विश्वकर्माले उठेर नियमापत्ति गरेका थिए ।
त्यसपछि अरु कांग्रेस सांसदहरु पनि विरोधमा उठेका थिए । केहीबेर प्रधानमन्त्री ओली र प्रतिपक्षी सांसदहरुबीच जुहारी चलेको थियो ।
तर, प्रधानमन्त्री ओलीले प्रश्नको पनि सीमा र मर्यादा हुन्छ भन्दै रेकर्ड सुनाउन माग गरेका थिए ।
हो–हल्लाकैबीच प्रधानमन्त्री ओलीले जवाफ दिइरहे भने हो–हल्लाकैबीच नीति तथा कार्यक्रम बहुमतले पारित गरियो ।
प्रतिपक्ष कांग्रेसले संसदमा भएको घटना सामान्य नभएको भन्दै सभामुख सरकारको लाचार छाया बनेको आरोप लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको जवाफमाथि टिप्पणी गर्न सांसदहरुलाई समय दिएका थिए ।
प्रतिपक्ष दलका करिब डेढ दर्जन सांसदले प्रश्न गरेपछि जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आक्रोश, कुन्ठा र निम्छरो प्रश्नबाहेक अरु प्रश्नको जवाफ दिने बताएपछि प्रतिपक्ष दलका सांसदले बैठकमा हो–हल्ला गर्दै विरोध जनाएका हुन् । इमेजखबरमा समाचार छ ।