कांग्रेसद्दारा संसद्मा दर्ता गराएका तीनवटा विधेयक फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी

news
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीय संसद्मा दर्ता गराएका तीनवटा विधेयक फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
कांग्रेसको संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले संसद्मा दर्ता गरिएका तीनवटा विधेयकप्रति आपत्ति जनाउँदै अविलम्ब फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
विधेयक नेपालको संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल भएको कांग्रेसको ठहर छ ।
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक संविधानको मर्म र भावनाविपरीत भएकाले यसले लोकतन्त्रलाई खतरा भएको भन्दै भोलिबाटै दबावमूलक कार्यक्रम गर्ने बताए ।
सरकारले दर्ता गराएका विधेयक मानव अधिकार, प्रेस स्वतन्त्रता र विश्वव्यापी मान्यता विपरित भएको कांग्रेसको ठहर छ ।
प्रमुख सचेतक खाँडले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने बताए ।
उनले सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको भन्दै सबै राजनीतिक दललाई एक भएर प्रतिबाद गर्न पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए । इमेजखबरमा समाचार छ ।