मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तारको कामले तीब्रता पाएको छ ।
पाइप गाड्दा पर्सा राष्ट्रिय निकुञ्जभित्रका रुख काट्नु पर्ने विषयमा देखिएको अलमल सकिएसँगै कामले तीब्रता पाएको हो ।
निकुञ्ज क्षेत्रका रूख काट्न सरकारी निर्णय कुरेर बसेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना) कार्यालयले सरकारी निर्णय आएसँगै त्यो क्षेत्रमा पाइप गाड्ने काम युद्धस्तरमा थालेको हो ।
अबको एक महिनाभित्र जंगल क्षेत्रमा पाइप गाड्ने काम सकिने छ । नेपालतर्फको ३६ दशमलब २ किलोमिटरमध्ये यो क्षेत्रमा मात्र अन्तिम काम बाँकी रहेको थियो ।
यो बाहेक अरू ठाउँमा झण्डै दुई महिना अघि नै काम सकिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालयका इन्जिनियर प्रदिपकुमार यादव बताउँछन् ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जस्थित तेल भण्डारण केन्द्रसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइप विच्छ्याउने ठाउँ ९ किलोमिटर जंगल क्षेत्रमा रहेको छ ।
सरकारी निर्णय कुर्दा केही विलम्ब भए पनि अब भने जम्मा साढे ५ किलो मिटर मात्र पाइप गाड्न बाँकी छ ।
नेपाल–भारत दुवै देशका सरकारबीच सम्झौता भई पाइपबाट पेट्रोलियम पदार्थ आउन थालेपछि बन्द हड्ताल र अन्य अवरोधबाट केही असर नपर्ने दुवै देशको आंकलन छ । गत वर्ष बैशाखदेखि पाइप लाइन विस्तारको काम सुरु भएको थियो । इमेजखबरमा समाचार छ ।