लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ ।
राष्ट्रपति विद्यदेवी भण्डारीले लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष सुरु भएको घोषणा गरेकी हुन् ।
उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरेकी छन् ।
लुम्बिनीको विकासले प्रदेश नम्बर–५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताइन् ।
स्थानीयवासीको सहयोग र सहकार्यलाई सँगै लिएर अघि बढ्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराइन् ।
उनले बुद्धस्थललाई जोडेर आन्तरिक पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत् पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गरिन् ।
उनले बुद्धपूर्णिमालाई वैशाख दिवसकारुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद दिइन् ।
लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रकारुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी क्षेत्रमा शान्ति, स्थिरता कायम गर्दै जानुपर्ने बताइन् । रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्धरुपमा कार्यक्रम सन्चालन गर्ने बताएका छन् ।
लुम्बिनीमा शनिबार आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रकारुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए ।
उनले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढंगबाट विकास गर्दै लैजाने प्रतिबद्धता जनाए ।
उनले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढंगले योजना बनाउने बताए ।
कार्यक्रममा प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए ।
बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्रगतिमा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य बुद्धस्थलकोसमेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।
प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नम्बर–५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए ।
कार्यक्रममा लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै राससकर्मी निरा गौतमसहित ८ जनालाई कदरपत्रले सम्मान गरिएको थियो । रासस