प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले ल्याएको मिडिया काउन्सिल, मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकविरुद्ध कांग्रेसले सडक र सदनबाट संघर्ष गर्ने दाबी गरेका हुन् ।
उनले सरकार लोकतन्त्रको मेरुदन्डकारुपमा रहेका निकायमाथि एकपछि अर्को नियन्त्रणमा अग्रसर भइरहेको भन्दै त्यसविरुद्ध कांग्रेस नेतृत्वमा आन्दोलन नै सुरु हुने चेतावनी दिए ।
कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले संविधानप्रदत्त अधिकार कुन्ठित हुनेगरी राष्ट्रियसभाले कुनैपनि ऐन–नियम पारित नगर्ने दाबी गरे ।
समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले चालू अधिवेशनबाटै संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिए ।
नेता श्रेष्ठले विचार मिल्ने जुनकुनै पार्टीसँग पनि एकता हुनसक्ने भन्दै राजपासँग पनि एकताको प्रयास भइरहेको बताए । इमेजखबरमा समाचार छ ।