काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ८

news
धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
पाँचजनाको घटनास्थलमा र तीनजनाको उपचारकाक्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेले जानकारी दिए ।
मृत्यु हुनेमा काठमाडौंको थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीया सीता थपलिया, इलाम, कन्यामका २० वर्षीय विशाल गिरी, धादिङ, बेनिघाटका ४३ वर्षीय राजन आचार्य रहेका छन् ।  चारजनाको सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्यको धादिङस्थित विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख ४३८७ नम्बरको यात्रीवहाक बस आइतबार बिहान ६ बजेतिर त्रिशूली नदीमा खसेको हो ।
बस सडकबाट करिब ६० मिटर तल नदीमा खसेको छ ।
दुर्घटनाअघि बसका चालक फेरिएको घाइतेहरुले बताएका छन् ।
नदीबाट बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । इमेजखबरमा समाचार छ ।